google search

Thursday, February 16, 2012

लाटोकोसेरो र भँगेरा मर्न थाले

लाटोकोसेरो र भँगेरा मर्न थाले

काठमाडौ, फाल्गुन ३ -
राजधानीका विभिन्न स्थानमा लाटोकोसेरो, काग, भँगेरा लगायत पंक्षी भकाभक मरिरहेका छन् । अनुसन्धानका लागि विभिन्न स्थानबाट मरेका त्यस्ता पंक्षी केन्द्रीय पशुरोग अन्वेषण प्रयोगशालामा जम्मा हुने क्रम जारी छ । राजधानीमा मरेका कागमा बर्डफ्लुको भाइरस भएको पुष्टि भइसकेको छ भने लाटोकोसेरो र भँगेरामा समेत उक्त भाइरस हुन सक्ने विशेषज्ञहरूले औंल्याएका छन् ।

केही दिनयता राजधानीको लैनचौरस्थित बेलायती दूतावास, दरबारमार्ग, सिंहदरबार, अनामनगर लगायत स्थानमा थुप्रै मरेका लाटोकोसेरो र भँगेरा फेला परेका छन् । त्यस्ता मरेका पंक्षी स्थानीय बासिन्दाले परीक्षणका लागि केन्द्रीय पशुरोग अन्वेषण प्रयोगशाला पठाउने गरेका छन् । केही दिनअघि सिंहदरबारस्थित भौतिक योजना तथा निर्माण मन्त्रालय परिसरमा मरेका लाटोकोसेरो फेला परेका थिए ।

'मरेका काग, लाटोकोसेरो र भँगेरा प्रयोगशालामा ल्याउने क्रम जारी छ,' प्रयोगशालाका प्रमुख पशु चिकित्सक डा.दामोदर सेढाईंले कान्तिपुरसित भने, 'बुधबार पनि दरबारमार्गमा मरेका भँगेरा भेटिएको स्थानीयले जानकारी दिएका छन् ।' नवीन श्रेष्ठले दरबारमार्गमा धेरै भँगेरा मरेको बुधबार प्रयोगशालालाई जानकारी गराएका थिए । प्रयोगशालाले भने मरेका पंक्षीलाई तत्कालै गाड्न र उक्त क्षेत्रमा चुना छर्न मात्रै सुझाउने गरेको छ ।
बेलायतस्थित 'भेटेरिनरी ल्याबरोटेरी एजेन्सी' ले केही दिनअघि राष्ट्रिय सभागृहमा मरेका कागमा बर्डफ्लुको भाइरस भएको पुष्टि गरेको थियो । यद्यपि कृषि मन्त्रालय मातहतका निकायहरूले भने त्यसलाई गोप्य राखेका थिए । केही दिनअघि राष्ट्रिय सभागृह परिसरमा पाँच वटा काग मरेको अवस्थामा भेटिएपछि परीक्षणका लागि बेलायतस्थित प्रयोगशाला पठाइएको थियो । भँगेरा र लाटोकोसेरो भने परीक्षण गर्न बाँकी नै छ ।

प्रमुख सेढाईंले राजधानीमा भटाभट पंक्षी मर्न थालेपछि उच्च सतर्कता अपनाउन जिल्लास्थित पशु सेवा कार्यालयलाई निर्देशन दिइसकेेको बताए । अहिलेको कानुनअनुसार घरपालुवालाई मात्रै नियन्त्रण गर्न सक्ने प्रावधान छ । बाहिरबाट उडेर आउने चराचुरुङ्गी र पंक्षी नियन्त्रण गर्न समस्या भएको जानकारहरू बताउँछन् ।

संसद्को प्राकृतिक स्रोत साधन समितिको बुधबारको बैठकमा कृषि मन्त्रालय र मातहतका विभागका प्रमुखहरूले राजधानीमा समेत पंक्षीमा बर्डफ्लुको भाइरस भेटिएको पुष्टि गरे । कृषि सचिव नाथुराम चौधरीले बर्डफ्लु नियन्त्रण गर्न यथेष्ट मात्रामा प्रयास भएको दाबी गरे ।

बैठकमा बोल्दै सभासद लक्ष्मण घिमिरेले राजधानीमै कागमा बर्डफ्लुको जीवाणु फेला परेकाले नियन्त्रणमा सम्बन्धित निकायहरूले प्रभावकारी भूमिका खेल्नुपर्ने औंल्याए । कुखुरा मार्ने क्रममा हेलचेक्र्याइँ भएको भन्दै उनले सामान्य बर्दी लगाएका प्रहरीबाट कुखुरा मार्दा अरूमा त्यसको जीवाणु सर्न सक्नेतर्फ चनाखो हुनुपर्ने बताए ।

सभासद रमेश रिजालले किसानहरूमा बर्डफ्लुबारे जानकारी दिने खालका अभियान सञ्चालन गर्न सुझाव दिए । 'किसानहरूमा प्रशिक्षित कार्यक्रम ल्याउन सके चेतनाको स्तर बढ्न सक्छ र बेलैमा नियन्त्रण पहल गर्न सकिन्छ,' उनले भने ।

सभासद शिवराज गौतमले बर्डफ्लु नियन्त्रण गर्न तल्लो स्तरसम्म मोबाइल टोली परिचालन गर्न सुझाए । सभासद रत्ना गुरुङले राजधानीका विभिन्न स्थानमा थुप्रै पंक्षी मर्ने क्रम जारी रहेकाले नियन्त्रणका लागि बेलैमा सक्रिय हुन सुझाव दिइन् ।

अर्का सभासद पदम राईले २०६५ सालदेखि बर्डफ्लु सुरु भए पनि नियन्त्रणका लागि अहिलेसम्म के कस्ता अभियान चालिए र कत्तिका प्रभावकारी भए भन्नेबारे विश्लेषण गरी उच्च सतर्कता अपनाउन सल्लाह दिए । समितिले बर्डफ्लु नियन्त्रणमा प्रभावकारी भूमिका खेल्न कृषि मन्त्रालय र पशु सेवा विभाग लगायतलाई निर्देशन दिएको छ ।


स्रोत:कान्तिपुर दैनिक ,फ़ल्गुन् ४ 






No comments: