google search

Wednesday, September 22, 2010

खानेपानीमा मानव दिसा संक्रमित

खानेपानीमा मानव दिसा संक्रमित


22nd September, 2010
अतुल मिश्र
काठमाडौ, आश्विन ६ - चिकित्सकहरूले उपत्यकामा वितरित खानेपानी मानव दिसाबाट संक्रमित भएकाले सरुवा रोगको संक्रमण बढेको बताएका छन् । शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा भर्ना भएका झाडापखालाका रोगीमध्ये मंगलबार थप चार जनामा हैजा देखिएपछि चिकित्सकहरूले यस्तो बताएका हुन् । यसअघि गत सोमबार २, आइतबार ६ र शनिबार ५ जनामा प्रयोगशाला प्रमाणित हैजा देखिएको थियो ।

उपत्यकामा देखिएको हैजा भने 'जिरो वन-एजीएडब्लूए', सेरो ग्रुपको हो । हैजाले संक्रमित व्यक्तिको दिसामा पाइने भिबि्रयो कलेरी जीवाणुले संक्रमित पानी र खाना स्वस्थ व्यक्तिले खानाले हैजा रोग लाग्ने गरेको छ । 'दिनहँ' हैजाका रोगी देखिनुको अर्थ खानेपानीमा दिसा मिसिएको छ', नेपाल मेडिकल कलेजका सूक्ष्म जीव वैज्ञानिक प्रा. डा. शिवकुमार राईले भने, 'मेरै घरको भान्सामा आउने खानेपानीमा दिसा मिसिएको पाइयो । काठमाडौंवासीको स्थिति यो भन्दा फरक छैन ।'

टेकु अस्पताल स्रोतका अनुसार हालसम्म प्रयोगशाला प्रमाणित ३० जना हैजाका रोगी देखिएका छन् । पछिल्लो एक महिनायता अस्पतालमै हैजा परीक्षणको सुविधा उपलब्ध गराइएकाले वास्तविक संख्या यसभन्दा धेरै बढी हुने दाबी चिकित्सकहरूको छ । टेकु अस्पतालका डा. राजेश साहले भने- 'हैजाका रोगी आउने क्रम रोकिएको छैन ।' डा. साहका अनुसार हैजा देखिएका धेरैजसो रोगीले उपत्यकामामा वितरित खानेपानी प्रयोग गर्ने गरेका छन् ।

उपत्यकामा हैजा देखिएको बारे स्वास्थ्य मन्त्रालयले भने चासो नलिएको गुनासो चिकित्सकहरूले गरे । 'मन्त्रालयले हालसम्म प्रभावित क्षेत्रमा हैजाको वास्तविक स्थिति, यसको फैलावट र फैलिने स्रोत लगायतका बारेमा जानकारी सार्वजनिक गरेको छैन', मन्त्रालयका एक उच्च अधिकृतले भने, 'सरकारविहीन अवस्थाको असर मन्त्रालयमा परेको स्पष्ट देखिन्छ ।' मन्त्रालयले खानेपानी र महानगरपालिका लगायतका अन्य निकायसँग समन्वय गरेर उपत्यकामा देखिएको हैजाको वास्तविक अवस्था पत्ता लगाउनुपर्ने स्वास्थ्यकर्मीले बताए । उपत्यकामा वितरित खानेपानी शुद्धीकरणका लागि क्लोरिन प्रयोग गरेको भनिए पनि परीक्षण गर्दा क्लोरिन नदेखिएको प्रा. डा. राई बताउँछन् । 'हामीले स्वतन्त्र परीक्षण गर्दा उपत्यकाको धेरै ठाउँको खानेपानीमा क्लोरिनको सही स्तर देखेनौं', उपत्यकाका विभिन्न क्षेत्रमा आफूले गरेको खानेपानी परीक्षणको नतिजालाई औल्याउँदै प्रा. डा. राई भन्छन- 'वषर्ायाममा वितरण गरिएको खानेपानीमा अझ बढी जैविक र अर्गेनिक प्रदूषण देखिने गरेकाले क्लोरिनको मात्रा बढाउनुपर्छ ।'

राईका अनुसार खानेपानीको पाइपलाइनमा चुहावट लगायतका समस्याले गर्दा चिसो याममा दिने क्लोरिनको मात्राको दाँजोमा वषर्ायाममा थप उपयुक्त क्लोरिनेसन गर्नुपर्ने हुन्छ ।

(Source: http://www.ekantipur.com/np/2067/6/6/full-news/318189/)