google search

Wednesday, August 3, 2011

झाडापखाला र टाइफाइड प्रकोप

कान्तिपुर संवाददाता
प्यूठान, श्रावण १७ - 


मौसम परिवर्तन र दूषित पानीले झाडापखाला र टाइफाइडको प्रकोप फैलिएपछि जिल्ला अस्पताल बिजुवारमा बिरामीको चाप बढेको छ । बेडको अभावमा भुइँमै बसेर बिरामीहरू उपचार गराउन बाध्य छन् ।

प्रायः सुनसान हुने अस्पताल बिरामीले भरिभराउ छ । साउनको दोस्रो सातादेखि बिरामी बढ्न थालेका हुन् । जिल्ला अस्पतालमा मात्र दैनिक डेढ सयदेखि दुई सय जनासम्म उपचारका लागि आउने गरेका छन् । बिरामीको चाप बढेकाले शय्या नपुगेर भुइँमा राखेर उपचार गर्नुपरेको अस्पतालले जनायो ।

गाउँ-गाउँमा प्रकोप फैलिएपछि उपचारका लागि स्वास्थ्य संस्थामा आउने बिरामीको संख्या बढेको हो । पखाला लाग्ने, बान्ता आउने, ज्वरो आउने, टाउको दुख्ने, घाँटी दुख्ने, रुघाघोकीलगायतका रोग फैलिएको स्वास्थ्यकर्मीले बताए । जिल्ला अस्पताल बजुवारलगायत जिल्लाका अन्य स्वास्थ्य केन्द्रमा बिरामीको चाप बढिरहेको जनस्वाथ्य कार्यालयका निमित्त प्रमुख डा. स्वरूप श्रेष्ठले बताए ।

'बिरामी भर्ना र डिस्चार्ज हुने बराबरजस्तै छन्,' उनले भने, 'दैनिक बिरामीको चाप बढ्दो छ ।' उनले आकस्मिक सेवामा भर्ना हुने बिरामीलाई समेत शय्या नपुगेर भुइँमा राखेर उपचार गर्नपरेको बताए । आकस्मिक सेवामा तीन बेड बढाएर ६ पुर्‍याइएको छ । आकस्मिकमा मात्र दैनिक ८/१० जना बिरामी आउने गरेको अस्पतालले जनायो ।

 '१५ शय्याको अस्पतालमा एउटा थप गरेर १६ शय्या बनाइएको छ,' डा. शैलेशकुमार श्रेष्ठले भने, 'अपुग भएकाले ८/१० बिरामीलाई भुइँमा राखेर उपचार गर्नुपरेको छ ।' दैनिक १५ देखि २० जना भर्ना हुने र चार-पाँच जनालाई रिफर गरिने गरिएको अस्पतालले जनायो ।  अस्पतालमा बिरामीको संख्या बढेपछि जनशक्तिको कमीले नियमित उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई समस्या परेको छ ।

पहिरो प्रभावित क्षेत्रमा टाइफाइड 


रुकुम -कास)- पहिरोको त्रासले तीन सातादेखि विद्यालयमा बस्दै आएका पुर्तिमकाँडा ३ गिठाकोट र १ बसनडाँडाका बासिन्दाहरूमा टाइफाइडको प्रकोप देखिएको छ । पहिरोमा परी गाउँमा १३ जनाको ज्यान गएपछि डरले विद्यालयमा बस्दै आएका पीडितमा टाइफाइड देखिएको हो । जिल्ल्ाा अस्पतालका अनुसार गिठाकोटस्थित बालज्योति मावि र बसनडाँडास्थित ज्ञानोदय प्राविमा बस्दै आएका १ सय १२ परिवारका करिब ६ सय सदस्यमध्ये चार सय बढी बिरामी परेका छन् ।

 अस्पतालका प्रमुख डा. विनोद गिरीका अनुसार पहिरोपीडितहरूले दूषित पानी र बासी खाना प्रयोग गर्ने गरेकाले उनीहरूमा टाइफाइडको प्रकोप देखिएको हो । डा. गिरीका अनुसार मंगलबारसम्म २ सय ४० जनामा टाइफाइड देखिएको छ । बिरामी भएकाहरूमा सबैभन्दा बढी बालबालिका र वृद्धवृद्धा छन् ।

प्रभावित क्षेत्रमा औषधिको अभाव भएकाले थप समस्या परेको सहायक निमित्त जिल्ल्ाा अधिकारी अर्जुन भण्डारीले बताए । उनका अनुसार जिल्ल्ाा अस्पतालबाट मंगलबार बिहान थप औषधि पठाइएको छ । प्रकोप क्षेत्रमा चार जना स्वास्थ्यकर्मीको टोली खटाइएको उनले बताए ।

स्थानीय शिक्षक तिलकबहादुर पुनका अनुसार प्रभावित क्षेत्रमा औषधिको अभाव भएपछि बिरामीहरूलाई स्थानीय मेडिकलहरूमा महँगो मूल्यमा उपचार गराउनुपर्ने बाध्यता छ । 'टाइफाइडले अधिकांश थला परेपछि आजभोलि विद्यालय अस्पतालजस्तै भएको छ,' उनले भने ।


अनुगमन गर्न संसदीय टोली


पाल्पा -कास)- झाडापखालाले चार जनाको मृत्यु भएको गल्धा क्षेत्रमा मंगलबार संसदीय टोली अध्ययनका लागि पुगेको छ । असार तेस्रो र अन्तिम साता झाडापखालाको महामारी फैलिएको थियो ।

संसद्को बालबालिका तथा सामाजिक समितिअन्तर्गत सभासद लीला सोमैको संयोजकत्वमा विनोद पहाडी र पुरनसिंह दयाल अध्ययनका लागि पुगेका हुन् । संसद् सचिवालयका कर्मचारी अनन्त कोइराला, जिल्ला स्वास्थ्य कार्यालयका महामारी नियन्त्रण प्रमुख मीनबहादुर विष्ट, सहयोगी भुवन कार्कीसमेत गएका छन् । टोलीले झाडापखालाबाट प्रभावित परिवारलाई भेटेर सुझाव संकलन गरिने संयोजक सोमैले बताइन् । उनका अनुसार मृत्युको कारण खोजी गर्ने र कसरी झाडापखाला फैलियो भन्ने विषयमा अध्ययन गरिनेछ ।



'झाडापखाला फैलिएको सत्यतथ्य बुझिनेछ,' पहाडीले भने, 'त्यसैको अध्ययन गर्न समिति बनाएर आएका हौं ।' गल्धा २ खर्कडाँडाका १७ वषर्ीय हस्तबहादुर बयम्बु, सोही स्थानका १३ वषर्ीय जगतबहादुर बयम्बु, गल्धा ८ गल्धाफाँटकी २७ वषर्ीया नरमती रुचाल र गल्धा ३ राईकोटकी ५५ वषर्ीया मानकुमारी विकको झाडापखालाबाट मृत्यु भएको थियो ।