google search

Thursday, February 16, 2012

लाटोकोसेरो र भँगेरा मर्न थाले

लाटोकोसेरो र भँगेरा मर्न थाले

काठमाडौ, फाल्गुन ३ -
राजधानीका विभिन्न स्थानमा लाटोकोसेरो, काग, भँगेरा लगायत पंक्षी भकाभक मरिरहेका छन् । अनुसन्धानका लागि विभिन्न स्थानबाट मरेका त्यस्ता पंक्षी केन्द्रीय पशुरोग अन्वेषण प्रयोगशालामा जम्मा हुने क्रम जारी छ । राजधानीमा मरेका कागमा बर्डफ्लुको भाइरस भएको पुष्टि भइसकेको छ भने लाटोकोसेरो र भँगेरामा समेत उक्त भाइरस हुन सक्ने विशेषज्ञहरूले औंल्याएका छन् ।

केही दिनयता राजधानीको लैनचौरस्थित बेलायती दूतावास, दरबारमार्ग, सिंहदरबार, अनामनगर लगायत स्थानमा थुप्रै मरेका लाटोकोसेरो र भँगेरा फेला परेका छन् । त्यस्ता मरेका पंक्षी स्थानीय बासिन्दाले परीक्षणका लागि केन्द्रीय पशुरोग अन्वेषण प्रयोगशाला पठाउने गरेका छन् । केही दिनअघि सिंहदरबारस्थित भौतिक योजना तथा निर्माण मन्त्रालय परिसरमा मरेका लाटोकोसेरो फेला परेका थिए ।

'मरेका काग, लाटोकोसेरो र भँगेरा प्रयोगशालामा ल्याउने क्रम जारी छ,' प्रयोगशालाका प्रमुख पशु चिकित्सक डा.दामोदर सेढाईंले कान्तिपुरसित भने, 'बुधबार पनि दरबारमार्गमा मरेका भँगेरा भेटिएको स्थानीयले जानकारी दिएका छन् ।' नवीन श्रेष्ठले दरबारमार्गमा धेरै भँगेरा मरेको बुधबार प्रयोगशालालाई जानकारी गराएका थिए । प्रयोगशालाले भने मरेका पंक्षीलाई तत्कालै गाड्न र उक्त क्षेत्रमा चुना छर्न मात्रै सुझाउने गरेको छ ।
बेलायतस्थित 'भेटेरिनरी ल्याबरोटेरी एजेन्सी' ले केही दिनअघि राष्ट्रिय सभागृहमा मरेका कागमा बर्डफ्लुको भाइरस भएको पुष्टि गरेको थियो । यद्यपि कृषि मन्त्रालय मातहतका निकायहरूले भने त्यसलाई गोप्य राखेका थिए । केही दिनअघि राष्ट्रिय सभागृह परिसरमा पाँच वटा काग मरेको अवस्थामा भेटिएपछि परीक्षणका लागि बेलायतस्थित प्रयोगशाला पठाइएको थियो । भँगेरा र लाटोकोसेरो भने परीक्षण गर्न बाँकी नै छ ।

प्रमुख सेढाईंले राजधानीमा भटाभट पंक्षी मर्न थालेपछि उच्च सतर्कता अपनाउन जिल्लास्थित पशु सेवा कार्यालयलाई निर्देशन दिइसकेेको बताए । अहिलेको कानुनअनुसार घरपालुवालाई मात्रै नियन्त्रण गर्न सक्ने प्रावधान छ । बाहिरबाट उडेर आउने चराचुरुङ्गी र पंक्षी नियन्त्रण गर्न समस्या भएको जानकारहरू बताउँछन् ।

संसद्को प्राकृतिक स्रोत साधन समितिको बुधबारको बैठकमा कृषि मन्त्रालय र मातहतका विभागका प्रमुखहरूले राजधानीमा समेत पंक्षीमा बर्डफ्लुको भाइरस भेटिएको पुष्टि गरे । कृषि सचिव नाथुराम चौधरीले बर्डफ्लु नियन्त्रण गर्न यथेष्ट मात्रामा प्रयास भएको दाबी गरे ।

बैठकमा बोल्दै सभासद लक्ष्मण घिमिरेले राजधानीमै कागमा बर्डफ्लुको जीवाणु फेला परेकाले नियन्त्रणमा सम्बन्धित निकायहरूले प्रभावकारी भूमिका खेल्नुपर्ने औंल्याए । कुखुरा मार्ने क्रममा हेलचेक्र्याइँ भएको भन्दै उनले सामान्य बर्दी लगाएका प्रहरीबाट कुखुरा मार्दा अरूमा त्यसको जीवाणु सर्न सक्नेतर्फ चनाखो हुनुपर्ने बताए ।

सभासद रमेश रिजालले किसानहरूमा बर्डफ्लुबारे जानकारी दिने खालका अभियान सञ्चालन गर्न सुझाव दिए । 'किसानहरूमा प्रशिक्षित कार्यक्रम ल्याउन सके चेतनाको स्तर बढ्न सक्छ र बेलैमा नियन्त्रण पहल गर्न सकिन्छ,' उनले भने ।

सभासद शिवराज गौतमले बर्डफ्लु नियन्त्रण गर्न तल्लो स्तरसम्म मोबाइल टोली परिचालन गर्न सुझाए । सभासद रत्ना गुरुङले राजधानीका विभिन्न स्थानमा थुप्रै पंक्षी मर्ने क्रम जारी रहेकाले नियन्त्रणका लागि बेलैमा सक्रिय हुन सुझाव दिइन् ।

अर्का सभासद पदम राईले २०६५ सालदेखि बर्डफ्लु सुरु भए पनि नियन्त्रणका लागि अहिलेसम्म के कस्ता अभियान चालिए र कत्तिका प्रभावकारी भए भन्नेबारे विश्लेषण गरी उच्च सतर्कता अपनाउन सल्लाह दिए । समितिले बर्डफ्लु नियन्त्रणमा प्रभावकारी भूमिका खेल्न कृषि मन्त्रालय र पशु सेवा विभाग लगायतलाई निर्देशन दिएको छ ।


स्रोत:कान्तिपुर दैनिक ,फ़ल्गुन् ४ 






Monday, February 13, 2012

संक्रमित क्षेत्रमा पन्छी मार्न सुरु


संक्रमित क्षेत्रमा पन्छी मार्न सुरु


बिर्तामोड , फाल्गुन १ - 
झापाका तीन अलगअलग स्थानमा बर्डफ्लु संक्रमण पुष्टि भएपछि सरकारी प्राविधिक टोलीले आइतबार साँझदेखि किसानले पालेका कुखुरा तथा हाँसलगायत पन्छी मारेको छ । जिल्लाको मध्यवर्ती चारपाने, अर्जुनधारा तथा दक्षिणी पाठामारी गाउँ विकास समितिमा किसानले पालेका कुखुरा भकाभक मर्न थालेको एक सातापछि आइतबारमात्र जिल्ला पशु सेवा कार्यालयले बर्डफ्लु संक्रमणको जानकारी सार्वजनिक गरेको हो । 

पाठामारी १ का निजाम मियाँ र कौसर मियाँ तथा अर्जुनधाराका गोपाल ओलीले पालेका कुखुरामा बर्डफ्लु देखिएको थियो । यस्तै चारपाने ३ का देवेन्द्र श्रेष्ठका कुखुरा पनि मर्न थालेपछि सबै मरेका कुखुराको नमुना परीक्षणका लागि माघ २३ मा काठमाडांै पठाइएको थियो ।

सबै नमुनामा बर्डफ्लु संक्रमण पाइएपछि जिल्लास्थित एभियन इन्फ्लुएन्जा नियन्त्रण समितिले सातापछि रोग नियन्त्रण अभियान सुरु गरेको हो । 

स्रोत : कान्तिपुर दैनिक ,  फाल्गुन २ 

झापाका ३ ठाउँमा बल्र्डफ्लु


झापाका ३ ठाउँमा बल्र्डफ्लु

बिर्तामोड, माघ २९ - 
इलाम, पाँचथर र सुनसरीमा देखिएको बर्डफ्लु नियन्त्रणमा आई नसक्दै झापाका तीन स्थानमा पनि बर्डफ्लु भेटिएको छ । झापाको चारपाने, अर्जुनधारा र पाठामारीका कुखुरामा बर्डफ्लु संक्रमण पुष्टि भएको जिल्ला पशुसेवा कार्यालयले आइतबार जनाएको हो । 

पशुसेवा प्रमुख डा. राधेश्याम मण्डलका अनुसार स्थानीय र लेयर्स जातका कुखुरामा बर्डफ्लुको संक्रमण भेटिएको हो । चारपाने-३ का देवेन्द्रकुमार श्रेष्ठको पोल्ट्री र्फममा लेयर्स जातका कुखुरामा बर्डफ्लु भेटिएको हो । संक्रमणका कारण उनका झन्डै चार सय कुखुरा मरिसकेका छन् । पाठामारी-१ र अर्जुनधारा-७ मा स्थानीयले पालेका सयौं कुखुरा मरेको कार्यालयले जनाएको छ । कुखुरा मर्नेक्रम तीव्र भएपछि नमुना संकलन गरी परीक्षण गर्दा ती गाविसका कुखुरामा बल्र्डफ्लु पुष्टि भएको मण्डलले बताए ।

'केन्द्रीय पशुरोग अन्वेषणशालामा गरिएको परीक्षणमा बर्डफ्लु पुष्टि भयो,' उनले भने, 'नियन्त्रणका लागि आइतबारदेखि प्रयास थालिएको छ ।' कुखुरासँगै भेटिएका अन्डा, दाना र अन्य घरपालुवा पन्छी पनि नष्ट गरिने छन् । स्थानीय प्रशासनले घटनास्थल वरपर पाँच सय मिटर क्षेत्रलाई संक्रमित क्षेत्र घोषणा गरेको छ । तीनवटै क्षेत्रमा अलग-अलग टोली परिचालन भएका छन् । डा. जगदीश पाण्डे, डा. राकेश प्रजापति र डा. सत्यनारायण साह नेतृत्वको टोलीलाई प्रभावित स्थलमा पठाइएको छ । सहजताका लागि टोलीका साथमा सुरक्षाकर्मी पनि परिचालन गरिएको झापाका प्रहरी प्रमुख तारणीप्रसाद लम्सालले बताए ।

स्रोतः कान्तिपुर दैनिक, फल्गुन १ 


५ हजार कुखुरा मारिए



कान्तिपुर संवाददाता
इनरुवा, माघ २९ - 
बर्डफ्लु प्रमाणित भएपछि सुनसरीको इटहरी ६, बज्राहास्थित पिके पोल्ट्री र्फमका करिब ५ हजार कुखुरा आइतबार नष्ट गरिएको छ । क्षेत्रीय पशु सेवा निर्देशनालय र जिल्ला पशु सेवा कार्यालय, सुनसरीको र्‍यापिड रेस्पोन्स टोलीले आइतबार कुखुरा नष्ट गरेको हो ।

पुस २६ गते खनारस्थित पाथीभरा पोल्ट्री र्फमका कुखुरामा संक्रमण देखिएको थियो । त्यसपछि इटहरी ६, बज्राहास्थित पिके पोल्ट्री र्फममा पनि संक्रमणका कारण कुखुरा मर्न थालेका थिए । पछि पूर्वाञ्चल क्षेत्रीय परीक्षण प्रयोगशाला विराटनगर र केन्द्रीय पशु रोग अन्वेषण प्रयोगशाला काठमाडौंमा मात्र नभई बेलायतस्थित अन्तर्राष्ट्रिय प्रयोगशालाबाट प्रमाणित भएपछि बर्डफ्लु संक्रमणको आधारमा पाथीभरा र्फमका जीवित २ हजार ३ सय ८५ कुखुरा सरकारी टोलीले नष्ट गरेको थियो । पिकेको अर्को खोरमा रहेका कुखुराको नमुना परीक्षण गर्दा बर्डफ्लु जीवाणु भेटिएपछि आइतबार त्यहाँ जीवित रहेका ४ हजार ८ सय ५३ कुखुरा नष्ट गरिएको पूर्वाञ्चल क्षेत्रीय पशु निर्देशक डा. बोलराज आचार्यले जनाए ।

उनका अनुसार त्यहाँ कुखुराका अतिरिक्त २ हजार ४ सय अण्डा र १ सय ४० किलो दानासमेत आइतबार नष्ट गरिएको छ । यसैबीच सुनसरीकै नरसिंहस्थित किसानको घरमा घरपालुवा कुखुरा मरिरहेका कारण अझै स्पष्ट हुन नसकेको क्षेत्रीय पशु सेवा निर्देशनालयले जनाएको छ । निर्देशनालयका प्रमुख डा. बोलराज आचार्यका अनुसार क्षेत्रीयस्तरमा गरिएको परीक्षणमा शंकास्पद रिपोर्ट आएपछि थप परीक्षणका लागि केन्द्रीय प्रयोगशाला पठाइएको आचार्यले बताए ।

स्रोतः कान्तिपुर दैनिक, फल्गुन १