google search

Thursday, April 26, 2012

औलोको प्रकोप बढ्यो


बाँके, वैशाख १३ -
राप्तीपारि मात्रै फैलिने औलो रोग प्रकोप बाँकेका सबै ठाउँमा देखिन थालेको छ । गत वर्ष यहाँ ६९ औलो रोगी भेटिएपछि यस जिल्लालाई उच्च जोखिमको सूचीमा राखिएको थियो । सुरुमा बाढीको प्रकोप हुने राप्तिपारिका ९ सहित १५ गाविसलाई उच्च जोखिममा राखिएको थियो । पछिल्लो समयमा भने जिल्लाका ४६ गाविस र नगरपालिकामा औलो रोगी भेटिन थालेका छन् । राप्तिपारिका बैजापुर, विनौना, नरैनापुर, गंगापुर, मटेहिया, कालाफाँटा, लक्ष्मणपुर, कटकुइया, फत्तेपुर गाविस रोगको बढी जोखिममा छन् ।

त्यस्तै राप्ती नदी छेउछाउका बेतहनी, होलिया, कम्दी, वनकट्टी, कचनापुर, खासकुश्मा, बागेश्वरी, वनकटुवा, रनियापुरलगायत गाविस औलोको उच्च रहेको जनस्वास्थ्यले जनायो ।

जिल्ला जनस्वास्थ्य बाँकेका किटजन्य रोग नियन्त्रण निरीक्षक अन्देश्वर चौधरीले बाँके औलोको उच्च जोखिममा रहेको बताए । 'पहिले बाढी प्रकोप क्षेत्रमा मात्रै देखिने उक्त रोगको अहिले सबै ठाउँमा देखा पर्न थालेको छ,' विश्व औलो दिवसमा आयोजित कार्यक्रममा उनले भने ।

बाँकेमा ८ वर्षअघिदेखि नै औलोको प्रकोप देखिएको थियो । तर उक्त रोगको विशेषज्ञ अभावले प्रकोपबाट सर्वसाधारणको मृत्यु भएको थियो । ५ वर्षअघि राप्तिपारिका गाविसमा औलोको महामारीमा ३३ जनाको ज्यान गएको थियो । निरीक्षक चौधरीले तीन वर्षयता जिल्लामा पुनः औलो रोगीको संख्या बढ्दै गएको दाबी गरे । 'मानिसको मृत्यु हुन सक्ने कडा खालको औलो पनि देखिएको छ,' उनले भने ।

यसैगरी सन् २०१० मा ३४ र २००९ मा २७ औलोका बिरामी भेटिएका थिए । २००८ मा ३० र २००७ मा १७० रोगी भेटिएकोमा ३७ जना कडा खाले थिए । सन् २०१६ सम्म औलो सर्ने डरलाई कम्तीमा पनि ९० प्रतिशतले कम गर्ने सरकारी लक्ष्य रहेको छ । तराई क्षेत्रका बाँकेसहित १३ जिल्लालाई सरकारले औलोको उच्च जोखिममा राखेको छ । वषर्ा मौसममा औलाको प्रकोप देखिने गरेका कारण जनस्वास्थ्यले वैशाखदेखि नै तयारी थालेको छ । असार, साउन र भदौमा यो रोग बढी देखिने गरेकामा जनचेतनाका कार्यक्रम सुरु गरिएको चौधरीले बताए ।

स्रोत: कान्तिपुर दैनिक, २६ अप्रिल, २०१२