google search

Monday, December 24, 2012

राजधानीमा बर्ड फ्लु

राजधानीमा बर्ड फ्लु

काठमाडौ, पुस ९ -
काठमाडौं महानगरसँग जोडिएको रामकोट-६ स्थित एक ह्याचरीमा बर्ड फ्लु देखिएको छ । कृषि मन्त्रालय स्रोतका अनुसार काठमाडौं सहरनजिकै मञ्जुश्री पोल्ट्री फार्ममा बर्ड फ्लु पुष्टि भएको छ ।

यसअघि भक्तपुर र ललितपुरमा बर्ड फ्लु भेटिएको थियो भने काठमाडौंमा यो पहिलो हो । तीन वर्षको अवधिमा नेपालमा यसको संक्रमण देखिएको यो २७ औं घटना हो । भेटेनरी एसोसिएसनका महासचिव डा. शीतलकाजी श्रेष्ठका अनुसार करिब तीन वर्षअघि झापाको सरनामती गाविसमा पहिलो पटक बर्ड फ्लु देखिएको थियो । धादिङको धार्केमा गत बिहीबार देखिएको बर्ड फ्लु मुलुकको २६ औं संक्रमण थियो । उपत्यकामा गत वर्ष जंगली कागमा बर्ड फ्लु देखिएको थियो ।

कृषि मन्त्रालयको विशेषज्ञसहितको टोली मंगलबार संक्रमित फार्ममा जाँदैछ । 'संक्रमणको मात्रा हेरेर छेउछाउ पनि निरीक्षण गर्नुपर्ने हुन सक्छ,' स्रोतले भन्यो ।

बर्ड फ्लु पन्छीहरूमा लाग्ने भए पनि मानिसमा पनि सर्न सक्ने संक्रामक तथा घातक रोग हो । 'संक्रमित पन्छीका र्‍याल, सिँगान र सुलीमा यो भाइरस रहन्छ,' डा. श्रेष्ठले भने, 'संक्रमितको नजिक रहने पन्छीलाई भाइरस सर्न सक्छ भने सुलीमा अत्यधिक मात्रामा भाइरस रहन्छ ।' भाइरस भएको एक ग्राम दूषित सुलीले १० लाख कुखुरालाई संक्रमण गर्ने क्षमता राख्छ ।

यस्तै सुलीसँग टाँसिएका अन्डा, अन्डाको क्रेट, दानाको बोरा, फार्ममा जाने मानिसको जुत्ता, लुगा, हात तथा सुली टाँसिएको सवारी साधनको पांग्रा आदिका माध्यमबाट एक ठाउँबाट अर्को ठाउँमा रोग सर्न सक्छ ।

संक्रमणको १८ देखि ७२ घन्टामा कुखुरामा यो रोगका लक्षण देखा पर्छन् । मासु र अन्डामा रोगका विषाणु भए पनि राम्ररी पकाएर खाएमा मासु वा अन्डाबाट यो रोग नसर्ने उल्लेख गर्दै डा. श्रेष्ठले भने, 'यो मानिसबाट मानिसमा सर्दैन वा विरलै मात्र सर्न सक्छ तर पशु वा पन्छीबाट सर्न सक्छ ।'

संक्रमण भएमा अकस्मात कुखुरा मर्ने, फुल पार्न बन्द हुने, टाउको सुन्निने, दाना नखाने, तिर्खाउने, सेतो पातलो दिसा गर्ने र पक्षघातजस्ता लक्षण देखिने उनले बताए । 'मानिसमा ज्वरो आउने, खोकी लाग्ने, घाँटी दुख्ने, केहीमा फोक्सोमा गम्भीर असर पर्न गई निमोनिया हुँदा रोग घातक हुन्छ,' स्वास्थ्य मन्त्रालय, इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. जीडी ठाकुरले भने, 'मासु खाने उपभोक्ताभन्दा पनि कुखुरा फार्मका कामदार, मासु बिक्रेता, बधशालामा काम गर्नेलाई रोग सर्ने बढी सम्भावना हुन्छ ।'

स्रोत: कान्तिपुर दैनिक ,२०६९ पुस १०