google search

Monday, August 2, 2010

झाडापखालाको प्रकोप

झाडापखालाको प्रकोप
Editorial,
2nd July, 2010

हरेक वर्ष डुबानमा पर्ने नेपालगन्जका केही बस्तीहरू गणेशपुर, देवाफुल्बारी, घरबारी टोल, कोरियनपुर्बा, सल्यानीबाग र फुल्टेक्रा यसपटक डुबानमा मात्रै परेनन्, दूषित पानीका कारण यहाँ झाडापखालाको महामारी नै भित्रियो । दुई साताअघि आएको वर्षाले डुबानमा परेको बस्तीमा झाडापखालाले प्रकोपको रूप लिएको छ । झन्डै एक सातादेखि सुरु भएको झालापखाला अझै नियन्त्रणमा आउन सकेको छैन । बरु यस महामारीका कारण पाँच जनाको मृत्यु भइसकेको छ भने दर्जनौं बिरामी परेका छन् ।
नेपालगन्जस्थित भेरी अञ्चल अस्पताल र शिक्षण अस्पताल दुवैमा बिरामी खचाखच भरिएका छन् । दुवै अस्पतालमा एउटै बेडमा दुई तीन जनासम्म बिरामी राख्दा पनि नपुगेर बेन्च र भुइँमा सुताएर उपचार गर्नुपर्ने बाध्यात्मक अवस्था आएको छ । शनिबार मात्रै भेरी अञ्चल अस्पतालमा १ सय ३३ बिरामी भर्ना भए भने आइतबार बिहानैदेखि बिरामीको चाप बढेको छ ।

झाडापखाला दूषित पानीका कारण फैलिएको र उक्त पानीमा हैजाका कीटाणु हुन सक्ने अनुमान चिकित्सकहरूको छ । त्यसकारण सरकारका सम्बन्धित स्वास्थ्य सेवाका निकायहरूले यसलाई गम्भीरतापूर्वक लिनुपर्छ । हैजाको प्रकोपको पीडा कस्तो हुन्छ भन्ने हामीले यसअघि पनि बेहोरिसकेका छौं । पोहोरसाल झाडापखालाको महामारी फैलिएर मध्यपश्चिमका जिल्लाहरू जाजरकोट, रुकुममा दर्जनौं मानिसले अनाहकमा ज्यान गुमाउनुपरेको दृष्टान्त पुरानो भएको छैन । गाउँमा औषधि र स्वास्थ्यकर्मी नहुने र केन्द्रको राज्यले हैजा फैलिएको प्रारम्भिक दिनहरूमा नागरिकको स्वास्थ्यप्रति जिम्मेवारीबोध गर्न नसक्दा उक्त प्रकोपले भयावह रूप लिएको थियो । एक सालअघिको यो घटनालाई पाठका रूपमा लिँदै नेपालगन्जका यी बस्तीमा फैलिएको झाडापखालाको महामारी नियन्त्रण गर्नतिर केन्दि्रत हुनुपर्छ ।
नेपालगन्जको झाडापखाला प्रकोपमा सरकारले चासो देखाएको छ । नेपालगन्ज जनस्वास्थ्य कार्यालयले घुम्ती स्वास्थ्यटोली खटाएको छ भने स्वास्थ्य विभाग महामारी नियन्त्रण महाशाखाले हैजा परीक्षणका लागि विशेषज्ञसहतिको टोली त्यहाँ पुगेको छ । यद्यपि यो चासो पर्याप्त होइन । क्षेत्रीयस्तरको अस्पतालमा अहिलेसम्म पनि हैजाका कीटाणु परीक्षण गर्ने प्रविधि नहुनुले हाम्रो स्वास्थ्य सेवा निकायमा साधनस्रोतको कतिको अभाव रहेछ भन्ने उजागर गर्छ । त्यस्तै नागरिकहरू बर्सेनि एकातिर डुबानको मारमा पर्न विवश छन् भने उनीहरूको न्यूनतम र आधारभूत आवश्यकता सफा खानेपानीको समेत व्यवस्था भएको पाइँदैन । यो अवस्थामा एकातिर नेपालगन्जका बस्तीहरूमा स्वच्छ वातावरण र खानेपानीको दीर्घकालीन प्रबन्ध गरिनुपर्छ भने अहिले तत्कालका लागि सरुवा रोगको रूपमा रहेको झाडापखाला अन्यत्र बस्तीमा फैलिन नपाओस् भनेर विशेष ध्यान पुर्‍याउनुपर्छ ।
बाढी/डुबानको समय भएकाले अन्यत्र जिल्लामा पनि झाडापखाला फैलिन सक्ने डर हुन्छ । त्यसकारण सरकारी स्वास्थ्य सेवा जोखिममा रहेका अन्य जिल्लामा प्रकोपले रूप नलिँदै विभिन्न जनचेतनामूलक कार्यक्रमसहित केन्दि्रत हुनुपर्छ । नेपालगन्जमा फैलिएको झाडापखालको प्रकोपबाट जनतालाई बचाउनु र यसको नियन्त्रणलाई अहिले मुख्य प्राथामिकतामा राखिनु जरुरी छ । यसका लागि आवश्यक स्रोधसाधनको प्रबन्ध गरिनुपर्छ र प्रकोपका समयमा मात्रै स्वास्थ्य सेवा, जनचेतनाका कार्यक्रम लगेर पुग्दैन, सरकारले जनताका आधारभूत आवश्यकताको सूचीमा पर्ने स्वास्थ्य, खानेपानी, सरसफाइको उचित र उपयुक्त प्रबन्ध नियमित गर्नुपर्छ । हरेक वर्ष सरकारी बजेटमा यी शीर्षकमा रकम विनियोजन गरिएको हुन्छ । त्यसको सदुपयोग गर्दै यस्ता महामारी फैलिनुपूर्व बस्तीहरूमा पुगी सरकारले नागरिकको स्वास्थ्य अधिकारलाई सुनिश्चित गर्न सक्नुपर्छ ।

Source: e-kantipur

No comments: