google search

Sunday, February 13, 2011

झाडापखालाका बिरामी बढे


झाडापखालाका बिरामी बढे

कान्तिपुर संवाददाता
रुकुम, फाल्गुन १/Feb. 14, 2011 - 
सदरमुकाम मुसीकोटलगायत आधा दर्जन गाविसमा झाडापखालाका बिरामी देखिन थालेका छन् ।

झाडापखालाका कारण दुई सातामा २ बालबालिकाको उपचार अभावमा मृत्यु भएको छ । खलंगा, बाफिकोट, कोटजहारी, भलाक्चा, पेउघा, आठविसकोटलगायत आधा दर्जन गाविसमा ५० भन्दा बढी बिरामी परेको जिल्ला स्वास्थ्यका प्रमुख विनोद गिरीले बताए । 

गाउँका स्वास्थ्य चौकीमा औषधि अभाव भएपछि बिरामीहरू स्थानीय मेडिकलमा महँगो शुल्क तिरेर उपचार गराउन बाध्य छन् । 'प्रकोपका रूप नलिए पनि झाडापखालाका बिरामी बढेका छन् ।' गिरीले भने, 'जाडो मौसम भए पनि दिउँसो गर्मी बढेकाले रोग बढेको हो ।'

जिल्ला अस्पताल सल्लेमा सदरमुकाम आसपासबाट दैनिक १० जना झाडापखालाका बिरामी आउने गरेका छन् । अस्पतालका अनुसार बिरामी पर्नेमा बालबालिका बढी छन् । 'झाडापखालाका बिरामी दिनदिनै बढे पनि सरकारी निकायबाट कुनै चासो भएको छैन,' खलंगा ६ का ओपेन्द्र शर्माले भने, 'घरघरमा बिरामी देखिन थालेका छन् ।' 'दूषित पानी र फोहोर खानेकुराका कारण बिरामी बढेका हुन्,' गिरीले कान्तिपुरसित भने, 'चिसोका कारण पनि बालबालिकामा झाडापखाला लाग्ने गरेको छ ।' कोटजहारीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा पनि १२ भन्दा बढी बिरामी दैनिकजसो आउने गरेका छन् । झाडापखाला जाडो मौसममा बढीमात्रामा बालबालिकामा हुने स्वास्थ्यले जनाएको छ ।

रोग देखिन थालेपछि सबै स्वास्थ्य चौकीमा औषधि पठाउन थालिएको र अरू बढ्न नदिन सबै सावधानी अपनाएको स्वास्थ्य कार्यालयले जनाएको छ । 'झाडापखाला फैलन नदिन खानेपानीको क्षेत्रमा काम गर्ने निकायको विशेष ध्यान जानुपर्छ,' डा. गिरीले भने, 'स्वास्थ्यले विभिन्न निकायसँग समन्वय गरी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न थालेको छ ।'

No comments: