google search

Wednesday, November 30, 2011

राजधानीमा पहिलोपटक बर्डफ्लु

भक्तपुर, मंसिर १३ -
उपत्यकामा पहिलो पटक बर्डफ्लु -एभियन इन्फ्लुएन्जा) को कीटाणु भेटिएको छ । भक्तपुरको मध्यपुरठिमी-१६ लोकन्थली मनोहरा पुलनजिक चन्द्रबहादुर तामाङको र्फमका हाँस र कुखुरामा कीटाणु भेटिएको पशु स्वास्थ्य निर्देशनालयले पुष्टि गरेको हो ।

र्फममा गत कात्तिक २४ र २५ मा कुखुरा मरेपछि नमुना परीक्षणका लागि त्रिपुरेश्वरस्थित केन्द्रीय पशु रोग अन्वेषण प्रयोगशाला पठाइएको थियो । २७ र २८ गते परीक्षण गर्दा बर्डफ्लुको कीटाणु भएको शंका लागेपछि थप परीक्षण गर्न २९ गते बेलायतको भेटेनरी ल्याब एजेन्सी वेभ बि्रजमा पठाइएको थियो । उक्त नमुना परीक्षणबाट समेत बर्डफ्लुको जीवाणु रहेको पुष्टि भएको हो । 'गत शुक्रबार राति बर्डफ्लु रहेको पुष्टि भयो,' निर्देशनालयका वरिष्ठ पशु चिकित्सक डा. नारायणप्रसाद घिमिरेले भने । मन्त्रिपरिषद्को सोमबारको बैठकले तत्काल रोग नियन्त्रणमा लिने निर्णय गरेको थियो ।

रोग नियन्त्रण टोली मंगलबार बिहानै कुखुरा र्फम पुगी संक्रमित पन्छी नष्ट गरेको हो । स्वास्थ्य विभागअन्तर्गतको एभियन इन्फ्लुएन्जा नियन्त्रण महाशाखाको टोली र एनिमल रेपिट रेस्पोन्स टोलीले कुखुरा र हाँसहरू विशेष साधनले घाँटी च्यापेर मारेको हो । मारिएका सबै पन्छी गहिरो खाडलमा पुरिएको छ । पन्छी नष्ट गर्न जनस्वास्थ्य कार्यालय, पशु सेवा कार्यालय भक्तपुरका कर्मचारी पनि खटिएका थिए । 'त्यो र्फमबाहेक अन्तको कुखुरामा रोग सर्न पाएको थिएन,' घिमिरेले भने, 'अन्यत्र फैलनबाट रोक्न पूरै बस्तीको कुखुरा नष्ट गरेका छौं ।'

उक्त र्फम आसपासमा ४२ छाप्रोका ७६ कुखुरा र २ सय ३२ हाँस नष्ट गरेको उनले बताए । सरकारले ६ महिनाभन्दा माथिका प्रत्येक कुखुरा र हाँसलाई १ सय ३० रुपैयाँ र त्योभन्दा सानालाई ५० रुपैयाँका दरले तत्काल क्षतिपूर्ति दिएको छ । बर्डफ्लुको कीटाणु गतवर्ष चितवनमा देखिएको थियो । घिमिरेका अनुसार सन् २०१० मा बाँके, कैलाली, दाङ, रूपन्देही, तनहुँ, कास्कीमा देखिएको थियो । २००९ देखि नेपालमा पहिलो पटक झापामा बर्डफ्लुको कीटाणु पाइएको हो । पन्छीमा देखिए पनि यसबाट मानिसको मृत्यु भने भएको छैन । मंगलबार नष्ट गरिएका पन्छीहरू पाल्ने २१ जनालाई ३९ हजार आठ सय ६२ रुपैयाँ क्षतिपूर्ति बाँडिएको घिमिरेले जनाए । नष्ट गरेको पन्छी संख्याको आधारमा राहतका लागि चल्ला बाँड्ने उनले जनाए । 'जति कुखुरा नष्ट गरिएको छ, त्यति नै चल्ला दिन्छौं,' उनले भने । बर्डफ्लुको संक्रमण फैलिन नदिन पूरै बस्तीमा कीटाणु मार्ने रसायन छरिएको छ । टोलीले चन्द्रबहादुरको र्फमका ३१ हाँस नष्ट गरेको छ । कात्तिक २४ अघि आफ्नो र्फममा ८० हाँस र ८० कुखुरा रहेको चन्द्रले बताए । 'रोग लागेको पाँच दिनमा सबै कुखुरा र १० वटा हाँस मर्‍यो,' उनले भने, 'नमुना परीक्षणका लागि टेकुमा लगेको थिएँ, त्यसपछि रोग लागेको थाहा पाएँ ।'

बर्डफ्लु लागेका हाँस भक्तपुरकै छालिङ-४ थापा गाउँबाट ल्याएको उनले बताए । टोलीले चन्द्रबहादुरको कुखुरा खोर र आसपासको क्षेत्र पनि सरसफाइ गरेको छ । प्रभावित क्षेत्रमा उच्च सतर्कता अपनाइएको घिमिरेले बताए । संक्रमित क्षेत्रमा पन्छी नष्ट गरिसकेकाले सर्वसाधारणलाई त्रसित नहुन उनले आग्रह गरे । 'जुन क्षेत्रमा कीटाणु देखिएको हो, त्योभन्दा बाहिर छैन, ढुक्क भए हुन्छ,' उनले भने, 'संक्रमित क्षेत्रमा पनि नियन्त्रणमा आइसक्यो ।' उक्त क्षेत्रको ४२ दिनसम्म निगरानी हुने उनले बताए । त्यसका लागि जिल्ला पशु सेवा कार्यालय भक्तपुरका प्राविधिक खटिने छन् ।

रोग नियन्त्रणमा खटिएका प्राविधिक र पशु चिकित्सकको स्वास्थ्य परीक्षणका लागि स्वास्थ्य विभागका डा. बालकृष्ण सुवेदीको नेतृत्वमा अर्को टोली पनि खटिएको थियो । टोलीले रोग नियन्त्रणमा जाने प्राविधिकको स्वास्थ्य ठीक छ कि छैन परीक्षण गरेर पठाएको थियो । कुखुरा नष्ट गरेर आएपछि पनि उनीहरूको परीक्षण गरिएको थियो । घर-घरमा गएर संक्रमित क्षेत्रमा बसोबास गर्ने सर्वसाधारणको स्वास्थ्य स्थितिबारे जानकारी संकलन गरिएको थियो । 'अध्ययनले मानिसमा असर गरेको देखिएन,' टोलीमा सहभागी जनसम्पर्क निरीक्षक कुमारप्रसाद दाहालले भने ।

No comments: