google search

Monday, February 13, 2012

झापाका ३ ठाउँमा बल्र्डफ्लु


झापाका ३ ठाउँमा बल्र्डफ्लु

बिर्तामोड, माघ २९ - 
इलाम, पाँचथर र सुनसरीमा देखिएको बर्डफ्लु नियन्त्रणमा आई नसक्दै झापाका तीन स्थानमा पनि बर्डफ्लु भेटिएको छ । झापाको चारपाने, अर्जुनधारा र पाठामारीका कुखुरामा बर्डफ्लु संक्रमण पुष्टि भएको जिल्ला पशुसेवा कार्यालयले आइतबार जनाएको हो । 

पशुसेवा प्रमुख डा. राधेश्याम मण्डलका अनुसार स्थानीय र लेयर्स जातका कुखुरामा बर्डफ्लुको संक्रमण भेटिएको हो । चारपाने-३ का देवेन्द्रकुमार श्रेष्ठको पोल्ट्री र्फममा लेयर्स जातका कुखुरामा बर्डफ्लु भेटिएको हो । संक्रमणका कारण उनका झन्डै चार सय कुखुरा मरिसकेका छन् । पाठामारी-१ र अर्जुनधारा-७ मा स्थानीयले पालेका सयौं कुखुरा मरेको कार्यालयले जनाएको छ । कुखुरा मर्नेक्रम तीव्र भएपछि नमुना संकलन गरी परीक्षण गर्दा ती गाविसका कुखुरामा बल्र्डफ्लु पुष्टि भएको मण्डलले बताए ।

'केन्द्रीय पशुरोग अन्वेषणशालामा गरिएको परीक्षणमा बर्डफ्लु पुष्टि भयो,' उनले भने, 'नियन्त्रणका लागि आइतबारदेखि प्रयास थालिएको छ ।' कुखुरासँगै भेटिएका अन्डा, दाना र अन्य घरपालुवा पन्छी पनि नष्ट गरिने छन् । स्थानीय प्रशासनले घटनास्थल वरपर पाँच सय मिटर क्षेत्रलाई संक्रमित क्षेत्र घोषणा गरेको छ । तीनवटै क्षेत्रमा अलग-अलग टोली परिचालन भएका छन् । डा. जगदीश पाण्डे, डा. राकेश प्रजापति र डा. सत्यनारायण साह नेतृत्वको टोलीलाई प्रभावित स्थलमा पठाइएको छ । सहजताका लागि टोलीका साथमा सुरक्षाकर्मी पनि परिचालन गरिएको झापाका प्रहरी प्रमुख तारणीप्रसाद लम्सालले बताए ।

स्रोतः कान्तिपुर दैनिक, फल्गुन १ 


५ हजार कुखुरा मारिए



कान्तिपुर संवाददाता
इनरुवा, माघ २९ - 
बर्डफ्लु प्रमाणित भएपछि सुनसरीको इटहरी ६, बज्राहास्थित पिके पोल्ट्री र्फमका करिब ५ हजार कुखुरा आइतबार नष्ट गरिएको छ । क्षेत्रीय पशु सेवा निर्देशनालय र जिल्ला पशु सेवा कार्यालय, सुनसरीको र्‍यापिड रेस्पोन्स टोलीले आइतबार कुखुरा नष्ट गरेको हो ।

पुस २६ गते खनारस्थित पाथीभरा पोल्ट्री र्फमका कुखुरामा संक्रमण देखिएको थियो । त्यसपछि इटहरी ६, बज्राहास्थित पिके पोल्ट्री र्फममा पनि संक्रमणका कारण कुखुरा मर्न थालेका थिए । पछि पूर्वाञ्चल क्षेत्रीय परीक्षण प्रयोगशाला विराटनगर र केन्द्रीय पशु रोग अन्वेषण प्रयोगशाला काठमाडौंमा मात्र नभई बेलायतस्थित अन्तर्राष्ट्रिय प्रयोगशालाबाट प्रमाणित भएपछि बर्डफ्लु संक्रमणको आधारमा पाथीभरा र्फमका जीवित २ हजार ३ सय ८५ कुखुरा सरकारी टोलीले नष्ट गरेको थियो । पिकेको अर्को खोरमा रहेका कुखुराको नमुना परीक्षण गर्दा बर्डफ्लु जीवाणु भेटिएपछि आइतबार त्यहाँ जीवित रहेका ४ हजार ८ सय ५३ कुखुरा नष्ट गरिएको पूर्वाञ्चल क्षेत्रीय पशु निर्देशक डा. बोलराज आचार्यले जनाए ।

उनका अनुसार त्यहाँ कुखुराका अतिरिक्त २ हजार ४ सय अण्डा र १ सय ४० किलो दानासमेत आइतबार नष्ट गरिएको छ । यसैबीच सुनसरीकै नरसिंहस्थित किसानको घरमा घरपालुवा कुखुरा मरिरहेका कारण अझै स्पष्ट हुन नसकेको क्षेत्रीय पशु सेवा निर्देशनालयले जनाएको छ । निर्देशनालयका प्रमुख डा. बोलराज आचार्यका अनुसार क्षेत्रीयस्तरमा गरिएको परीक्षणमा शंकास्पद रिपोर्ट आएपछि थप परीक्षणका लागि केन्द्रीय प्रयोगशाला पठाइएको आचार्यले बताए ।

स्रोतः कान्तिपुर दैनिक, फल्गुन १ 

No comments: