google search

Tuesday, March 13, 2012

महानगर सफा गर्न लाख स्वयंसेवक

महानगर सफा गर्न लाख स्वयंसेवक

काठमाडौ, फाल्गुन २९ - 
काठमाडौं महानगरपालिकाले उपत्यकाको सरसफाइका लागि स्वयंसेवक परिचालन गर्ने भएको छ । त्यसका लागि चैतको अन्तिम साताबाट करिब १ लाख स्वयंसेवक परिचालन गर्ने तयारी गरेको महानगरले जनाएको छ । महानगरका प्रत्येक घरबाट एकजना स्वयंसेवक तयार गर्ने महानगरको योजना छ ।

बढ्दो सहरीकरण र फोहोर व्यवस्थापनका लागि थालिएको अभियानलाई महानगरले 'काठमाडांै सरसफाइ अभियान' नाम दिएको छ । महानगर वातावरण विभाग प्रमुख रविनमान श्रेष्ठले प्रथम चरणमा एकसाता सरसफाइ अभियान चलाउने तयारी भइरहेको भन्दै दीर्घकालीन समस्या समाधानका बारेमा पनि सरोकारवाला निकायसँग छलफल भएको बताए । 

सरसफाइ अभियानमा मन्त्री, सभासद, राजनीतिक दलका नेता, नागरिक समाज, नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी, सरकारी कर्मचारी परिचालन गरिने उनले बताए । त्यसैका साथै नेपाल चेम्बर अर्फ कमर्स, उद्योग वाणिज्य महासंघ, रोटरी र लायन्स क्लब लगायतका संघसंस्थाको सहभागिता रहनेछ । सम्बन्धित वडामा रहेका गैरसरकारी संस्था, सरकारी तथा निजी विद्यालयको पनि सहभागिता रहने उनले बताए । 'प्रत्येक घरघरबाट एकजना सदस्य स्वैच्छिक रूपमा सहभागी हुन आह्वान  गर्छौं,' उनले भने, 'त्यसका लागि बृहत् तयारी गर्दै छांै ।' 

सरसफाइ अभियानका लागि स्थानीय विकासमन्त्री टोपबहादुर रायमाझीको संयोजकत्वमा समिति गठन गरेको छ । त्यसैगरी महानगरका कार्यकारी अधिकृत केदारबहादुर अधिकारीको नेतृत्वमा कार्यान्वयन समिति गठन गरिएको छ । सरसफाइ अभियान प्रस्तावलाई महानगरको बोर्ड बैठकले पनि पारित गरेको छ । महानगरका कार्यकारी अधिकृत केदारबहादुर अधिकारीले महानगरलाई साँच्चिकै मेट्रो सिटी बनाउन सरसफाइ अभियानमात्र नभई धेरै कुरा गर्न बाँकी रहेको बताए । 'महानगरका संरचनाको राम्ररी विकास भएका नै छैनभन्दा पनि हुन्छ, त्यसकारण त्यो बनाउन विभिन्न निकायको सहयोग नभई हुँदैन,' उनले भने । सरसफाइ नै महानगरको मुहार भएकाले त्यसको प्रभाव सबैलाई पर्ने हुँदा यो अभियान थालिएको उनले बताए । 'महानगर, त्यसमा पनि राजधानी सहर, अब यो नै स्वच्छ र सफा हँुदैन भने कहाँ हुन्छ, जसरी भए पनि स्वच्छ र सफा बनाउनै पर्छ,' उनले भने । यो अभियान निरन्तरका लागि विभिन्न निकायसँग आर्थिकलगायत विभिन्न प्रकारको सहयोगका लागि छलफल भइरहेको समेत उनले बताए । महानगरले घरबाट निस्कने विभिन्न प्रकारका फोहोरलाई छुट्याएर विसर्जनका लागि बाल्टिन दिने तयारी पनि गरेको छ । त्यसले गर्दा काम लाग्ने फोहोरबाट कम्पोस्ट मल तयार गर्न सकिने वातावरण विभाग प्रमुख श्रेष्ठले बताए । 'घरमै कम्पोस्ट मल उत्पादन गरेर आम्दानी गर्न सकिन्छ, निश्चित मूल्यमा महानगरबाट ठूला प्रकारका बाल्टिन वितरण गर्छौं,' उनले भने । महानगरभित्रका सडक विस्तार गर्ने काम भएकाले सधैंभरि कसरी स्वच्छ र सफा राख्ने विषयमा पनि छलफल भइरहेको उनले बताए । त्यसका लागि एक लाखभन्दा बढी बाल्टिन वितरण गरिनेछ । 

महानगरलाई स्वच्छ र सफा राख्न प्रधानमन्त्री बाबुराम भट्टराईले आफ्नै कार्यकक्षमा बोलाएर स्थानीय विकासमन्त्री रायमाझी र अन्य सरारकोरवाला निकायसँग केही दिनअघि छलफल गरेका थिए । छलफलमा प्रधानमन्त्री भट्टराईले महानगरको सरसफाइ अभियानमा सहयोग गर्न सरोकारवाला निकायलाई निर्देशनसमेत दिएको प्रमुख श्रेष्ठले बताए । अभियानलाई प्रभावकारी बनाउन सञ्चार माध्यमलाई समेत परिचालन गरिने भन्दै उनले त्यसका लागि विभिन्न निकायसँग छलफल जारी रहेको उनले बताए । 'अब अन्तिम चरणमा पुग्दैछौं,' उनले भने ।

प्रकाशित मिति: २०६८ फाल्गुन ३०

स्रोत:कान्तिपुर दैनिक, फाल्गुन ३०

No comments: