google search

Sunday, October 27, 2013

सर्लाहीमा झाडापखालाको प्रकोप

सर्लाहीमा झाडापखालाको प्रकोप

दूषित पानीले यहाँको चुरेफेदीको परवानीपुर १ सतभैया टोलमा झाडापखालाको प्रकोप फैलिएको छ । प्रकोप बढेपछि स्वास्थ्यकर्मीको टोलीले गाउँमा पुगेर उपचार गरिरहेको छ । शनिबार बिहान गाउँमा पखाला फैलिएपछि उपचारका लागि लालबन्दी प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको थियो ।

'पूरै गाउँमा एकै पटक झाडापखाला फैलियो,' स्थानीय दिलबहादुर रेग्मीले भने, 'टाउको दुख्ने, बान्ता हुने र पखाला लाग्ने भयो ।' गाउँलेले प्रयोग गर्ने साझा इनारको पानी दूषित भएर झाडापखाला फैलिएको अनुमान छ । एक्कासि धेरै बिरामी परेपछि चुनाव प्रचारमा पुगेका उम्मेदवारका गाडीमा उनीहरूलाई अस्पताल लगिएको थियो । १७ जनाको लालबन्दी अस्पतालमा उपचार भइरहेको छ । 'चुनाव प्रचारका गाडी नभएको भए के हुन्थ्यो भन्न सकिन्न,' रेग्मीले भने, 'धेरै जना बिरामी भएकाले आत्तिएर हामी त सोच्नै नसक्ने भएका थियौं ।' लालबन्दी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारार्थ भर्ना भएका १२ जना निको भएर आइतबार घर फिर्ता भएका छन् । 

बढी बिरामी ५ जनाको उपचार जारी छ । बिरामी भई अस्पतालमा उपचारार्थ भर्ना भएका टलकबहादुर रानाले सधैंझैं खानेकुरा खाएकाले पानीकै कारण पखाला फैलिएको बताए । 'गाउँमा रहेको इनारको पानी खाने तल्लो टोलका मात्र सबैजसो बिरामी पर्‍यौं,' उनले भने, 'अस्पताल आएका बाहेक गाउँमा पनि उत्तिकै बिरामी छन् ।' शनिबार अस्पताल भर्ना भएका रानालाई आइतबारसम्म निको भएको छैन । अस्पतालकी नर्स कमला भट्टराईले पखाला, बान्ता र टाउको दुख्ने लक्षण बिरामीमा देखिएको बताइन् ।
 
प्रकाशित मिति: २०७० कार्तिक १०
स्रोत :कान्तिपुर दैनिक 



No comments: