google search

Tuesday, July 12, 2011

दूषित पानीका कारण झाडापखाला

दूषित पानीका कारण झाडापखाला



गल्धा -पाल्पा, अषाढ २८ - झाडापखाला प्रभावित क्षेत्रमा पुगेको स्वास्थ्य टोलीले दूषित पानीका कारण पूरै गाउँ प्रकोपमा परेको जनाएको छ । गल्धा गाविसमा २ साताअघि सुरु झाडापखाला नियन्त्रणमा नआएपछि सोमबार प्रभावित क्षेत्र पुगेको चिकित्सकसहितको टोलीले पानीकै कारण समस्या भएको निष्कर्ष निकालेको हो ।

उक्त गाउँमा प्रकोप व्यवस्थापन शिविर सञ्चालन गरेका स्वास्थ्यकर्मीले घरदैलो गरेको थियो । 'हरेक घरमा घरदैलो गर्नुसाथै बिरामीसँग जानकारी लिने र बुझ्ने गरेको छ,' डा. प्रशान्त बज्राचार्यले भने, 'मुख्य कारण पानी नै देखियो । फोहोर व्यवस्थापनमा पनि कमी छ ।'

गल्धाको झाडापखाला प्रभावित गाउँमा चार किलोमिटर टाढा मित्यालको झ्याल्टुङडाँडाबाट खानेपानी ल्याइएको छ । यहाँका १ सय ३० परिवारले त्यही पानी पिउँछन् । 'मूल भएकै ठाउँमा बनाएको ट्यांकी राम्रोसँग ढाकिएको छैन,' खानेपानी उपभोक्ता समूहका सदस्य टेकबहादुर सारूले भने, 'मर्मतका लागि पैसा छैन । मूलमा पनि साबुनपानी जाने र वषर्ाको भलसमेत पस्छ ।' त्यही पानी पिउने परिवारमा झाडापखाला प्रकोप बढी देखिएको छ ।

गाविस वडा २ को खर्कडाँडा, गाबुडाँडा, १ को वाङलाङ, ३ को राईकोट, धनुवास ४ को कोटथरमा त्यही पानी पिउँछन् । झ्याल्टुङडाँडाबाट ल्याएको पानी गाबुडाँडास्थित ट्यांकीमा संकलन गरी वितरण गरिएको छ । 'ट्यांकी चुहिने छ, पैसा नभएर माटोले टालिएको छ,' पानी वितरक इन्द्रबहादुर राईले भने । असार १० गते पानी पर्न सुरु गरेपछि दुई/तीन दिनपछि बालबालिका र बूढाबूढीमा झाडापखाला सुरु भयो ।

यही कारण खर्कडाँडामा २ र गल्धाफाँटमा १ जनाको मृत्यु भइसकेको छ । सयभन्दा बढी प्रभावित छन् । महामारी प्रकोप व्यवस्थापन प्रमुख मीनबहादुर विष्टले भने, 'कुखुरा, बंगुरका बच्चा पानी ट्यांकीमाथि फोहोर गरेको छ । त्यही फोहोर रसाएर ट्यांकीमा जाने गरेको रहेछ ।'

उपचार नपाएर मृत्यु

झाडापखालाका बिरामीले समयमै उपचार नपाउँदा मृत्यु भएको स्थानीय बासिन्दाले बताएका छन् । उनीहरूले सरकारी स्वास्थ्य संस्थामा अहेव नबस्ने र पर्याप्त औषधि नपाएकै कारण झाडापखालाले तीन जनाको ज्यान गएको बताए ।

गल्धाका स्वास्थ्य चौकी प्रमुख गणेश गैरे गाउँमा नबसेकै कारण झाडापखालाले महामारीको रूप लिएको गाउँलेको भनाइ छ । असार १२ बाट झाडापखाला सुरु भए पनि गैरे १८ गते तानसेन हिँडेका थिए । माशिका लक्ष्मी अर्यालले प्रकोप संवेदनशील भएर नबुझ्दा महामारीको रूप लिएको गुनासो छ ।   

दुई सिकिस्त
झाडापखालाले अझै दुई जना सिकिस्त छन् भने ६० बढी प्रभावित छन् । मृतक हिरामती रूचालकै परिवारकी १२ वषर्ीय शान्ति र १० वषर्ीय राधा रूचाल झाडापखालाले सिकिस्त बनेका हुन् । उनीहरूको अवस्था गम्भीर बनेको छ ।

No comments: