google search

Tuesday, July 12, 2011

झाडापखाला प्रभावित क्षेत्रमा शिविर


झाडापखाला प्रभावित क्षेत्रमा शिविर



माधव अर्याल/गल्धा -पाल्पा, अषाढ २७ - 

झाडापखाला प्रभावित क्षेत्रका तीन ठाउँमा उपचार शिविर सञ्चालन गरिएको छ । गल्धा गाविसमा दुई साताअघि सुरु भएको झाडापखाला नियन्त्रणमा नआएपछि सोमबार पुगेका चिकित्सक टोलीले महामारी प्रकोप व्यवस्थापन शिविर खडा गरेको हो । 

राइकोट निमावि र कठैडाँडा हेल्थपोस्टमा शिविर राखिएको छ । बेलडाँडामा स्वास्थ्यकर्मीको घुम्ती टोली परिचालित छ । तीन जनाको मृत्युपछि जिल्ला स्वास्थ्यबाट टोली आइपुगेको हो । राइकोट निमाविमा पहिलो दिन ६० जनाको परीक्षण गरी औषधिसमेत वितरण गरेको डा. प्रशान्त बज्राचार्यले बताए । झाडापखालाले खर्कडाँडामा दुई र बेल्डाँडामा एक जनाको ज्यान गएपछि स्वास्थ्य टोली पठाएको स्वास्थ्य कार्यालयका प्रमुख महेन्द्रध्वज अधिकारीले बताए । तानसेनबाट कच्ची सडक ६० किमि गाडीमा र चार घन्टा पैदल हिंडेर स्वास्थ्यकर्मी र सञ्चारकर्मीको टोली प्रभावित क्षेत्र पुगेको थियो । उक्त टोलीमा डा. बज्राचार्य, हेल्थ असिस्टेन्ट गणेश गैरे, रेमबहादुर दिशा, मासिका लक्ष्मी अर्याल, सहयोगी बाबुराम खड्का, जिल्ला महामारी रोग नियन्त्रण तथा व्यवस्थापन संयोजक मीनबहादुर विष्ट छन् । राइकोटमा मात्रै जीवनजल ३ सय पोका, मेट्रोन, जिंक ट्यावलेटलगायत वितरण गरिएको व्यवस्थापन संयोजक बिष्टले बताए । गल्धाको राइकोट, खर्कडाँडा, गावुडाँडालगायत गाउँका १ सय ५० परिवार झाडापखालाबाट प्रभावित छन् । वषर्ाको समयमा दूषित पानीको प्रयोगपछि झाडापखाला फैलिएको हुनसक्ने स्थानीय इन्द्रबहादुर राईले बताए । मित्यालको झ्याल्टुङबाट ल्याएको पानी गल्धाको डेढ सय परिवारले पिउने गर्छन् । १० दिनयता निजी मेडिकलमा ८० जनाभन्दा बढी बिरामी उपचारमा गएको स्थानीय बासिन्दाले बताए ।

स्वास्थ्यकर्मी नहुनु दुःखद्
यसैबीच गल्धा गाविसस्थित स्वास्थ्यचौकीमा स्वास्थ्यकर्मी र अत्यावश्यक औषधिसमेत नभएर झाडापखालाबाट तीन जनाको ज्यान जानु दुःखद भएको अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले जनाएको छ । यस घटनाबाट सरकारले जति सेवा सुविधा उपलब्ध गराएको दाबी गरे पनि सर्वसाधारण राज्यबाट पाउनुपनर्ेे न्यूनतम सेवाबाट अझै टाढा रहेको इन्सेकद्वारा जारी विज्ञप्तिमा भनिएको छ । मासिका र पियनका भरमा स्वास्थ्यचौकी छाड्ने लापरबाहीप्रति ध्यानाकर्षण गर्दै आगामी दिनमा नागरिकले उपचार र औषधि अभावमा ज्यान गुमाउनु नपरोस् भन्दै अनुरोध गरिएको छ ।

No comments: