google search

Tuesday, October 16, 2012

भक्तपुरमा बर्डफ्लु


मकर श्रेष्ठ, कृष्ण ज्ञवाली/ भक्तपुर, आश्विन २९ - 

मध्यपुर थिमिको बोडेस्थित ओमबहादुर खड्काको कुखुरा फार्ममा बर्डफ्लुको भाइरस -एच५एन१) भेटिएको छ । केन्द्रीय भेटेनरी प्रयोगशालामा परीक्षण गर्दा उनको फार्मको कुखुरामा बर्डफ्लुको भाइरस पुष्टि भएपछि नष्ट गरिएको हो । पशु सेवा निर्देशनालयका अनुसार नेपालमा २४ औं पटक यस्तो भाइरस देखा परेको हो । 


परीक्षणबाट २६ गते राति बर्डफ्लु संक्रमण पुष्टि भएपछि सोमबार ७ सय ८० कुखुरा नष्ट गरेको पशु स्वास्थ्य निर्देशनालयका वरिष्ठ चिकित्सक डा. नारायण घिमिरेले बताए । उक्त फार्म भक्तपुर र काठमाडौंका विभिन्न स्थानमा पानी वितरण गर्ने प्रशोधन केन्द्रसँगै जोडिएको छ ।खड्काको फार्मका कुखुराको प्रारम्भिक परीक्षणबाट संक्रमण देखिएपछि जिल्ला बर्डफ्लु नियन्त्रण प्राविधिक समितिको बैठक बसेको थियो । बैठकले उक्त क्षेत्रलाई संक्रमणग्रस्त क्षेत्र घोषणा गरी फार्मका कुखुरा नष्ट गर्ने निर्णय गरेको हो । संक्रमण फैलन नदिन प्रशासनिक प्रक्रिया पुर्‍याएर सबै कुखुरा नष्ट गरिएको सहायक प्रमुख जिल्ला अधिकारी भोजराज भट्टराईले बताए । 'वरपर पनि निगरानी बढाइएको छ,' घिमिरेले भने । उनका अनुसार थप परीक्षणका लागि विदेशको प्रयोगशालामा पठाइएको छ । पशु प्राविधिकहरूका अनुसार नेपालका प्रयोगशालाहरूमा पर्याप्त सुविधा नभएका कारण विदेशबाटै बर्डफ्लु संक्रमण सुनिश्चित गर्नुपर्छ । नेपालमा प्रारम्भिक पुष्टि मात्रै गर्ने सुविधा छ । लक्षण देखिएपछि संकलित नमुनाको प्रारम्भिक परीक्षण गर्न ४८ घन्टाभन्दा बढी समय लाग्छ । संक्रमण फैलिएर जोखिम बढ्न सक्ने भएकाले तत्काल परीक्षण -र्‍यापिड टेस्ट) गरी पुष्टि गरेर कुखुरा नष्ट गरिएको प्राविधिकहरूको भनाइ छ । 

फार्म नजिकै खुला रूपमा प्रशोधन केन्द्र रहेकाले पानीमा पनि संक्रमित भाइरस हुन सक्ने आशंका छ । त्यसैले पानीको समेत परीक्षण गर्न पठाएको घिमिरेले बताए । 'पानी परीक्षणका लागि पठाएका छौं, रिपोर्ट आउन बाँकी छ,' उनले भने ।  एक सातादेखि फार्मका कुखुरामा संक्रमण देखिन थालेको व्यवसायी खड्काले बताए । उनका अनुसार असोज २१ मा पहिलो पटक सातवटा कुखुरा मरे । लगातार मर्न थालेपछि २३ गते परीक्षणका लागि केन्द्रीय प्रयोगशाला पठाइएको उनले बताए । करिब दुई हजार कुखुरा पालेको फार्ममा १२ सय कुखुरा आफैं मरेको उनले बताए । टोलीले संक्रमणको जोखिम फैलन नदिन एक सय ५५ क्रेट अन्डा र ६ बोरा दाना पनि नष्ट गरेको छ । सरकारले व्यवसायीलाई प्रतिकुखुरा एक सय ३० रुपैयाँ क्षतिपूति दिने भएको छ । घिमिरेको नेतृत्वमा गएको पशु विशेषज्ञसहितको टोलीले सोमबार अपराह्नसम्म सबै कुखुरा नष्ट गरी सुरक्षित रूपमा गाडेको छ । दोलखा सुरी-७ मा स्थानीय घर भएका खड्काले पाँच वर्षदेखि फार्म सञ्चालन गर्दै आएका छन् । उनका अनुसार अघिल्लो सातादेखि एकै खालको लक्षण देखिई कुखुरा मर्न थालेका थिए । 'झोक्राउने, दाना नखाने झोक्राउने, र्‍याल काढ्ने हुँदै गएको थियो,' उनले भने, 'त्यहीबेलादेखि पशुका प्राविधिकहरूलाई खबर गरेको हुँ ।' 

बर्डफ्लुको लक्षण देखिएलगत्तै प्राविधिकहरूको टोलीसहित प्रशासनले फार्मलाई संकटग्रस्त क्षेत्र घोषणा गरी कुखुरा नष्ट गर्न सुरु गरेको थियो । टोलीले फार्मका सबै टहरासमेत खाली गराई ब्याक्टेरिया र भाइरसको संक्रमण रोक्न विषादीसहित 'स्पे्र' गरेका थिए । एभियन इन्फ्लुएन्जा आयोजनाबाट 'पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट' लगाएको टोलीले कुखुरा नष्ट गरेका थिए । टोलीमा कम जनशक्ति भएकाले खाडल खन्न लगाइएका कामदारलाई पनि सुरक्षित पोसाक दिएर कुखुरा पुर्न लगाइएको थियो । 

प््लुको संक्रमणबाट जोगिन घटनास्थल वरपर आवतजावत नगर्न, वरपरका अरू फार्ममा निगरानी बढाउन स्थानीयलाई सतर्क बनाइएको सहायक प्रजिअ भट्टराईले बताए । प्रशासनले फार्म क्षेत्रमा तीन महिनासम्म सर्वसाधारणको चहलपहलमा रोक लगाएको छ । 'वरिपरिका अन्य फार्मका कुखुरा बिक्रीमा पनि रोक लगाएका छौं,' उनले भने । आसपासमा चारवटा फार्म छन् । खड्काको फार्म सँगैको अन्य चारवटा फार्ममा पनि बर्डफ्लुको आशंका गर्दै नमुना परीक्षणका लागि पठाइएको छ । भाइरस भए नभएको पुष्टि नभएकाले अन्य फार्मको कुखुरा नष्ट नगरेको पनि भट्टराईले बताए । फ्लुको संक्रमणबाट सयौं कुखुरा मरेको टहराको सय मिटरको दूरीमा रहेको अर्को फार्मलाई प्राविधिकहरूले केही नगरी छाडेका छन् । 'त्यो टहरामा केही लक्षण नदेखिएकाले कुनै एक्सन नलिइएको,' एक प्राविधिकले बताए ।  

पहिलो चरणको काम सकिएपछि फार्ममा कुखुराको सुली र अन्य अवशेषलाई सुरक्षित गर्नुपर्ने प्राविधिकहरू बताउँछन् । उनीहरूका अनुसार कुखुराको सुली र हावाबाट फ्लु सर्ने जोखिम निकै हुन्छ । चराहरूको अत्यधिक गतिविधि हुने विमानस्थलको ठीक पछाडिपट्ट िपर्ने फार्ममा संक्रमण देखिएकाले घुमन्ते चराका कारण संक्रमण फैलिएको हुनसक्ने पशु प्राविधिहरूको आशंका छ । एक वर्षअघि जडीबुटीस्थित मनोहरा पुलसँगैको कुखुरा फार्ममा पनि बर्डफ्लुको भाइरस भेटिएको थियो । त्यस्तै छ महिनाअघि काठमाडौंको फर्पिङस्थित एक फार्ममा बर्डफ्लु देखिएपछि १५ हजार कुखुरा नष्ट गरिएको थियो भने त्यसलगत्तै भैंसेपाटीको एक फार्ममा ६ हजार कुखुरा मारिएको थियो ।

स्रोत: कान्तिपुर दैनिक, आस्विन 30, 2069

No comments: