google search

Wednesday, October 17, 2012

पानीमा भेटिएन बर्डफ्लु

पानीमा भेटिएन बर्डफ्लु
भक्तपुर -
केन्द्रीय पशुरोग अन्वेषण प्रयोगशालाले बोडेको पानी खान योग्य भएको जनाएको छ । बोडे पानी प्रशोधन केन्द्रसँगैको कुखुरा र्फममा बर्डफ्लुको भाइरस भेटिएपछि गरिएको प्ररम्भिक परीक्षणमा पानी सुरक्षित देखिएको हो ।

'संकलित पानीको नमुनामा बर्ड फ्लु भाइरस देखिएन,' पशु स्वास्थ्य निर्देशनालयका निर्देशक डा.विजयकान्त झाले मंगलबार भने । त्रिपुरेश्वरस्थित केन्द्रीय पशु रोग अन्वेषण प्रयोगशालामा पानीको नमुना परीक्षण गरिएको थियो । डा.झाका अनुसार पानीको नमुनालाई पहिले र्‍यापिड टेस्ट र पछि 'पोलिमर चेन रियाक्सन'द्वारा परीक्षण गरिएको थियो । कुखुरामा एच५एन१ स्ट्रेन को बर्ड फ्लु देखिए पनि नेपालमा अहिलेसम्म मानिसलाई नसरेकाले पनि आत्तिनु नपर्ने उनले बताए । निर्देशनालय र जिल्ला पशु सेवा कार्यालयले यस क्षेत्रमा निरन्तर निगरानी गरिरहेको निर्देशनालयका वरिष्ठ पशु चिकित्सक डा. नारायण घिमिरेले बताए । मंगलबार पनि प्रशोधन केन्द्रको पानी परीक्षणका लागि लगेको छ । एक सातासम्म निरन्तर परीक्षण हुने जानकारी पनि उनले दिए । बर्डफ्लुको समाचार प्रकाशित भएपछि केयूकेएलले पनि सोमबार पानीको गुणस्तर परीक्षणका लागि नमुना लगेको छ । स्वास्थ्य मन्त्रालयद्वारा प्रकाशित जानकारी पुस्तिकामा 'बर्ड फ्लु भाइरस प्रदूषित पानीमा चार देखि ३० दिनसम्म जीवित रहने भएकोले एक ठाउँबाट दूषित पानी बगेर अर्को ठाउँमा रोग सार्न सक्ने' उल्लेख छ । 'पानी संक्रमित भएर निरन्तर बग्दा बर्ड फ्लु भाइरस नदेखिन समेत सक्छ,' सरुवारोग विशेषज्ञ डा.वासुदेव पाण्डे भन्छन्, 'केही नमुना हेरेर शत प्रतिशत छ वा छैन भन्न मिल्दैन ।' डा.पाण्डेका अनुसार सरकारले प्रशोधन केन्द्रसँगै उपभोक्ताको धाराबाट बढी मात्रामा नमुना संकलित गरेर कम्तीमा एक सातासम्म नियमित पानीको गुणस्तरको परीक्षण र अनुगमन गर्नुपर्छ । उनका अनुसार उमालेर चिसो गरेको पानी पिउनु सबै हिसाबमा उपयुक्त हुन्छ । पानीमा भाइरसको संख्या धेरै कम हुने भएकाले र त्यो रोगको संक्रमण गराउन पर्याप्त नहुने उल्लेख गर्दै डा.पाण्डे भन्छन्, 'शंकास्पद पानीले समेत हात धोए, नुहाए केही फरक पर्दैन ।' शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका डा.शेरबहादुर पुन समेत केही पानीको नमुनामा बर्ड फ्लुको भाइरस नदेखिए पनि ढुक्क भएर त्यसै छाड्नुको सट्टा न्यूनतम एक सातासम्म नमुनाहरूको नियमित परीक्षण आवश्यक रहेको बताउँछन् । डा.पुन भन्छन्, 'यो परीक्षण मात्र थप सन्तुष्टिका लागि हो, आत्तिनुपर्ने भने केही छैन ।'

संक्रमित क्षेत्र घोषणा

जिल्ला प्रशासन भक्तपुरले बर्डफ्लु भेटिएको इलाकालाई संक्रमित क्षेत्र घोषणा गरेको छ । सातदिनसम्म मासु र मासुजन्य सामान बिक्रीमा प्रतिबन्ध लगाएको पशु सेवा कार्यालयका प्रमुख एवं जिल्ला बर्डफ्लु नियन्त्रण प्राविधिक समितिका सदस्य सचिव शिवबहादुर केसीले बताए । 'यस क्षेत्रका कुखुरा फारममा निगरानी बढाएका छौं,' उनले भने, 'त्यस्तै, यहाँका फारमका कुखुरा अन्यत्र बिक्रीका लागि रोक लगाएका छौं ।' 'सर्भिलेन्स' हुँदासम्म रोक लगाएको हो । बर्डफ्लुको भाइरस भएको पुष्टि भएपछि सोमबार ७ सय ८० कुखुरा नष्ट गरे पनि र्फमको सुली, प्वाँख व्यवस्थित गर्ने र सरसफाइ गर्ने काम भने मंगलबार मात्रै गरेको छ । 'कामदार नभएकाले कुखुरा नष्ट गरेकै दिन अन्य काम गर्न सकिएन,' केसीले भने । दसैंले गर्दा कामदार नपाएको उनले बताए । पशु सेवा कार्यालयका प्राविधिकले मंगलबार बोडेको ६ कुखुरा फारममा अनुगमन गरेको छ । अनुगमनका क्रममा तीन वटा कुखुरा मरेको पाइएपछि नमुना परीक्षणका लागि प्रयोशशाला पठाएको उनले बताए । 'अन्य फारममा भेटिएका कुखुरामा बर्डफ्लुको लक्षण देखिएको छैन,' केसीले भने, 'पुष्टि गर्न प्रयोगशाला पठाएका छौं ।

 स्रोत: कान्तिपुर दैनिक , २०६९ कार्तिक १

No comments: