google search

Wednesday, May 15, 2013

बन्द जारको पानी भनेर ढुक्क नहुनुस्

बन्द जारको पानी भनेर ढुक्क नहुनुस्
काठमाडौं - बजारमा बिक्री वितरण भइरहेका प्रशोधित पानी दूषित र गुणस्तरहीन भएको पाइएको छ। नमूना संकलन गरी परीक्षण गरिएको यस्तो पाइएको खाद्य परीक्षण तथा गुण नियन्त्रण विभागले जनाएको छ। गुणस्तरीय पानीमा २५ भन्दा कम जीवाणु, अम्लीयपना ६.५ देखि ८ पिएच हुनुपर्छ। रसायन, पेस्टिसाइड, खनिज, अम्लीयपना जाँच गरेर गुणस्तर निर्धारण गरिन्छ।

विभागका अनुसार वैशाखमा गरिएको नमूना परीक्षणमध्ये विभिन्न तीन कम्पनीका पानी गुणस्तरहीन रहेको पाइएको छ। केएमडी बेभेरेज, प्रालि काभ्रे, यति बेभेरेज प्रालि, काभ्रे र सूर्यकुण्ड फुड्स एन्ड वाटर प्रालि, नुवाकोटको पानी परीक्षण गर्दा गुणस्तरहीन रहेको पाइएको छ। यी कम्पनीको नमुना पानी परीक्षण गर्दा कतिपयमा अम्लीयपना बढी र कतिपयमा अम्लीयपना कम पाइएको थियो। 'यी कम्पनीको पानीमा सुक्ष्म जीवाणु पनि पाइएको छ,' खाद्य परिक्षण तथा गुण नियन्त्रण विभागका प्रवक्ता प्रमोद कोइरालाले भने। सम्बन्धित कम्पनीमाथि अनुसन्धान गरी कारबाही अघि बढाइने विभागले जनाएको छ। यति बेभेरज प्रालि, काभ्रेका सञ्चालक विकास रौनियारले कम्पनीको आफ्नै ल्याबमा आवश्यक परीक्षणपछि मात्र उत्पादित पानी बजारमा पठाउने दाबी गरे। आफ्नो कम्पनीको पानी गुणस्तरीय भएकाले विभिन्न उच्चस्तरीय होटेलमा पठाउने गरेको उनको भनाइ छ।

२०६९ साउनयता अहिलेसम्म नमूना परीक्षण गर्दा विभिन्न २५ कम्पनीको पानी दूषित भएको भेटिएको छ। ती कम्पनीमध्ये कतिपयले कारबाही पूरा गरिसकेको र केही कम्पनी अनुसन्धानको क्रममा रहेका सम्बन्धित जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

गुणस्तरहीन प्रमाणित भएका पानीमध्ये कुनैमा खनिजको मात्रा बढी पाइएको छ। कतिपय पानीमा कीटाणुसमेत भेटिएको छ। बोरिङ गरेर निकालिएको भूमिगत पानी, खोला तथा झरनाको पानी उचित रूपमा प्रशोधन नगरिएकाले गुणस्तरहीन पाइएको छ। कतिपय कम्पनीको लापरबाहीले प्रशोधित पानी गुणस्तरहीन पाइएको कोइरालाको भनाइ छ। 'कतिपय कम्पनीले जार सिधै धारामा भरेर सिलप्याक गरेकोसमेत गुनासो सुनिएको छ,' उनले भने।

प्रशोधन प्रक्रियाअन्तर्गत जीवाणु, रसायन, फोहोर पदार्थ सबै छानिनुपर्नेमा उचित प्रविधि अभावले राम्रो प्रशोधन हुन नसकेको ठहर विभागले गरेको छ। पानी प्रशोधन गर्ने धेरैजसो प्रविधि स्थानीय तथा भारतीय भएको र ती प्रविधि कमजोर भएकाले पानी गुणस्तरहीन भएको कोइरालाले जनाए। 'धेरै गहिरो गरी पानी निकालिएको ठाउँमा खनिजको मात्रा बढी हुन्छ, पानी राम्रोसँग प्रशोधन गरिएको पाइँदैन,' उनले भने। बजारमा बिक्री वितरण भइरहेको प्रशोधित पानी दूषित देखिएकाले उपभोक्ता सचेत हुनुपर्ने कोइरालाको सुझाव छ। सकेसम्म पानी उमालेर, सोडिस प्रविधि अपनाएर (पानी घाममा सुकाएर खाने प्रक्रिया), पानीमा पियुष हालेर मात्र प्रयोग गर्नुपर्ने उनको भनाइ छ।
 
कोइरालाका अनुसार कुनै ब्याचमा गुणस्तरहीन देखिएका कतिपय पानी अर्को ब्याचमा गुणस्तरीय हुनसक्छन्। 'कुनै ब्याचको उत्पादनमा प्रशोधन प्रक्रियामै बढी रसायन परेको हुनसक्छ, त्यसले गुणस्तरमा असर पर्नसक्छ,' उनले भने।
प्रकाशित मिति : 2070/02/01
स्रोत :  नागरिक दैनिक 

No comments: