google search

Thursday, May 16, 2013

बर्डफ्लु झन् फैलँदै कीर्तिपुरमा पनि भेटियो

बर्डफ्लु झन् फैलँदै कीर्तिपुरमा पनि भेटियो 

 काठमाडौंको कीर्तिपुर वडा नं १ ट्याङ्लाफाँटमा रहेको एउटा घरको छतमा पालिएका कुखुरामा बुधबार पुनः बर्डफ्लु भेटिएको छ।

बर्डफ्लु संक्रमण देखिएपछि कीर्तिपुरका भीमप्रसाद लामिछानेको घरको छतमा पालिएका झन्डै २ सय कुखुरा नष्ट गरिएको छ। पशुसेवा निर्देशनालयबाट बुधबार राति ८ बजेको समयमा पुगेको र्यापिड रेस्पोन्स टोलीको नेतृत्व गरिरहनुभएका जिल्ला पशुसेवा कार्यालय काठमाडौंका प्रमुख डा. गुणराज आचार्यले सोबारेमा नेपाल समाचारपत्रलाई जानकारी गराउनुभयो।

मंगलबार मूलपानीस्थित अमर कार्की र वीरेन्द्र कार्कीको नमुना पोल्ट्री फर्ममा र ललितपुरको माणिखेल वडा नं ४ मा रहेको युनाइटेड पोल्ट्री फर्ममा बर्डफ्लु भेटिएपछि संक्रमित कुखुरा, अण्डा र दाना नष्ट गरिएको थियो।

पुनः बुधबार कीर्तिपुरमा बर्डफ्लु संक्रमित कुखुरा भेटिनुले अब नेपालमा बर्डफ्लुको संक्रमण भयावह भएको वरिष्ठ पशुचिकित्सकहरूको ठम्याइ रहेको छ।
मंगलबार ललितपुरको युनाइटेडमा २ हजार ८ सय ८८ कुखुरा, ७ सय किलो दाना र ५ बोरा कुखुराको सुली नष्ट गरिएको र बर्डफ्लु संक्रमित फर्मबाट २ सय मिटरको दूरीमा रहेको अर्को एउटा फर्मलाई पनि निगरानीमा राखिएको जिल्ला पशुसेवा कार्यालय ललितपुरका प्रमुख डा. मंगल शाहले बताउनुभयो।
पशुसेवा निर्देशनालयका वरिष्ठ पशुचिकित्सक डा. बलबहादुर चन्दका अनुसार बर्डफ्लु संक्रमण बढ्नुमा कृषकहरूकै लापरबाही जिम्मेवार छ।

एउटै गाडीमा मल, कुखुराका दाना, चल्ला ल्याउनु र फर्ममा जथाभाबी तरिकाले प्रवेश गर्नु, दानापानी सुरक्षित तरिकाले नराखेबाट जाडो याममा मात्र देखिने बर्डफ्लु गर्मीमा पनि फैलिएको हो।

कास्कीको लेखनाथ नगरपालिका तल्लो गगनगौंडामा रहेको वसन्त श्रेष्ठको फर्ममा बर्डफ्लु देखिएपछि त्यहाँ रहेका ५ सय ५५ कुखुरा, ४० केजी दाना बुधबार नष्ट गरिएको छ। कास्की जिल्ला पशुसेवा कार्यालयले २ हप्ताअघि मात्र पत्रकार सम्मेलन गरी कास्कीमा बर्डफ्लु नरहेको घोषणा गरेको थियो। विज्ञहरूले भने तालैतालको नगर पोखरामा सिमसार क्षेत्रबाट आउने चराहरूले जुनसुकै बेला पनि पोखरामा बर्डफ्लु ल्याउन सक्ने बताएका छन्। मूलपानीको नमुना फर्ममा मंगलबारै १ हजार ४ सय ६५ कुखुरा, १ सय ५० अण्डा र १ हजार २ सय केजी दाना नष्ट गरिएको थियो। रूपन्देही र चितवनमा केही समय अघिदेखि देखा परेको बर्डफ्लुका जीवाणु अझै नष्ट भइनसकेको चन्दले बताउनुभयो।

प्रकाशित मिति : 2070/02/02

स्रोत : नेपाल समाचार पत्र 

No comments: