google search

Tuesday, August 20, 2013

डेढ सय लाई झाडापखाला

                                      डेढ सय लाई झाडापखाला
रोल्पा — खुमेल–३ वेदधारामा सोमबार दिउँसोबाट फैलिएको झाडापखालाले १ सय ५२ जना बिरामी परेका छन्। बिरामी पर्नेमा ७९ महिला छन्।यो संख्या बढ्दो रहेको जिल्ला जनस्वास्थ्य कार्यालयका चिकित्सक विपिन कार्कीले बताए । उनका अनुसार बिरामीमध्ये १ सय ४१ जनाको खुमेल–४ स्थित उपस्वाथ्य चौकीमा उपचार भएको छ । अन्यको गजुल स्वास्थ्य चौकीमा उपचार गरिएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।बिरामीमध्ये १ सय ३७ जना प्राथमिक उपचारपछि घर फर्किसकेका छन् । १५ जनाको उपस्वाथ्य चौकीमै उपचार भइरहेको कार्कीले बताए ।स्थानीय नरबहादुर रोकाको श्राद्धमा गएका उनीहरू त्यहीं खाना खाएपछि बिरामी परेका थिए । आलु, तरिका, मासुलगायत परिकार खाएका थिए । बिरामी सबैमा एक्कासि वान्ता आउने, टाउको दुख्ने, रिंगटा लाग्ने र झाडापखाला हुने लक्षण देखिएको थियो ।
जिल्ला जनस्वास्थ्य कार्यालय रेउघाबाट कार्कीको नेतृत्वमा गएको स्वास्थ्यकर्मी टोलीले झाडापखाला प्रभावितको उपचार गरेको थियो । जिल्ला जनस्वाथ्य कार्यालयबाट औषधी र डाक्टरसहितको टोली प्रभावित क्षेत्रमा पुगेको थियो ।
झाडापखाला प्रभावितलाई राष्ट्रिय मावि खुमेलका शिक्षक, विद्यार्थी र अस्थायी प्रहरी चौकी सातदोबाटोका असई तेजबहादुर गुरुङ नेतृत्वको टोलीले उद्धार गरेको थियो । टाढा घर भएका बिरामी राति पनि स्वास्थ्यचौकी आउने क्रम चलिरहेको प्रसनि गुरुङले जानकारी दिए ।
सदरमुकाम लिबाङसँगै जोडिएको खुमेलमा झाडापखाला देखिएपछि जिल्लाबाट केही स्थानीय राजनीतिक दल र सञ्चारकर्मीको टोली प्रभावित क्षेत्र पुगेको छ ।
एक महिनाअघि लिवाङ–५ काभ्रेखर्कमा फैलिएको झाडापखालाबाट २२ जा प्रभावित भएका थिए । सदरमुकाम लिबाङमै असार २५ मा फैलिएको झाडापखालाबाट २२ जना प्रभावित देखिएका थिए । लिबाङ–५ काभ्रेखर्कमा वितरित खानेपानी ट्यांकीमा अविरल वर्षासँगै आएको बाढी पस्दा प्रकोप देखिएको थियो ।
श्रोत् : नगारिक दैनिक ,२०७० /०५ /०४ 

No comments: