google search

Tuesday, June 11, 2013

ज्वरो र पखालाका बिरामी बढे

ज्वरो र पखालाका बिरामी बढे

मन्थली, जेष्ठ २८ - 
केही दिनदेखि देखिएको ज्वरो र झाडापखालाको संक्रमणले बिरामी परेका मन्थली र आसपास क्षेत्रका बासिन्दा उपचारका लागि अस्पतालमा खचाखच भएका छन् । 

अस्पतालमा आउने सयौं बिरामीमध्ये ६० प्रतिशत ज्वरोका मात्र रहेको पाइएको छ । तामाकोसी सहकारी अस्पताल मन्थलीका निर्देशक डा. सुमन कर्माचार्यका अनुसार ज्वरोको समस्या लिएर अस्पताल आउने बिरामीको संख्या दुई दिनयता अत्यधिक छ । अस्पतालमा भर्ना हुने बिरामीको संख्या बढेपछि राखेर उपचार गर्ने स्थानसमेत अभाव हुन थालेको अस्पतालले जनाएको छ । १५ शय्याको उक्त अस्पतालमा हाल ज्वरोका मात्र ३० भन्दा बढी बिरामी भर्ना गरिएको छ । बिरामीको चाप बढेपछि स्वास्थ्यकर्मी सुत्नेदेखि पाले कोठामा समेत बिरामी राखेर उपचार भइरहेको अस्पतालले जनाएको छ । 'हामी अब कता राखेर उपचार गर्ने भन्ने अन्योलमा छौं', कर्माचार्यले भने, 'बिरामी आउने क्रम बढेको बढ्यै छ ।' 

यस्तो समस्या लिएर मन्थलीस्थित प्राथमिक स्वास्थ्य केन्द्र, रामेछाप सामुदायिक अस्पताल र मन्थली पोलीक्लिनिकमा समेत बिरामी पुगेका छन् । 'आएका सबै बिरामी ज्वरोका छन्', मन्थल्ाी पोलिक्लिनिकका सञ्चालक मोहन श्रेष्ठले भने । तामाकोसी सहकारी अस्पतालका निर्देशक डा. कर्माचार्यले दूषित पानीका कारण उक्त समस्या देखापरेको हुन सक्ने बताएका छन् । 'कल्चरको प्रतिवेदन आइसकेको छैन', कर्माचार्यले भने, 'हालसम्म हामीले पानीकै कारण रोग फैलिएको निचोड निकालेका छौं ।' 

मन्थलीका दुई निजी विद्यालयमा अध्ययन गर्ने बालबालिकामा ज्वरो, पेट दुख्ने र वाकवाकी लाग्ने समस्या छ । लिटिलस्टार र तामाकोसी इङलस स्कुलमा अध्ययन गर्ने १ सयभन्दा बढी बालबालिका बिरामी परेका छन् । 'ज्वरो आउने, टाउको दुख्ने, काम्ने, वाकवाकी लाग्ने र झाडा लाग्ने समस्या देखिएपछि हामीले आज मात्र ७० भन्दा बढी बालबालिकालाई अभिभावक बोलाएर घर पठाएका छौं', लिटिलस्टार स्कुलका पि्रन्सिपल धनलाल योञ्जनले भने । उनले अन्य विद्यार्थीलाई संक्रमण हुनबाट जोगाउनका लागि दुवै विद्यालय शुक्रबारसम्मका लागि बन्द गर्ने निर्णय भएको समेत जानकारी दिए । 
श्रोत : कान्तिपुर 
प्रकाशित मिति: २०७० जेष्ठ २९ ०९:५४

No comments: