google search

Monday, June 17, 2013

पाँच डेरीका दूध उपभोगमा रोक

पाँच डेरीका दूध उपभोगमा रोक
भक्तपुर, असार ३ -
दिशामा पाइने जीवाणु 'कोलिर्फम' भेटिएको भन्दै खाद्य तथा गुण नियन्त्रण विभागले उपत्यकाका पाँचवटा डेरी उद्योगका दूध उपभोगमा रोक लगाएको छ । तीमध्ये चारवटा भक्तपुरका र एक काठमाडौंका डेरी उद्योग रहेका छन् । विभागले उपत्यकाको तीनवटै जिल्लाका १४ डेरीबाट नमुना संकलन गरी परीक्षण गर्दा दूधमा अत्यधिक कोलिर्फम पाइएका पाँच उद्योगका दूध उपभोग नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ । विभागका प्रवक्ता प्रमोद कोइरालाका अनुसार खान अयोग्य हुने गरी कोलिर्फम भेटिएकामा भक्तपुरको खरिपाटी डेरीबाट उत्पादित गायत्री ब्रान्ड, कमलविनायकको सैंजू डेरीको अमृत र कान्तिपुर ब्रान्ड, भक्तपुर डेरीको बीडीपीएल, सूर्य विनायकको सञ्जीवनी डेरीको सञ्जीवी ब्रान्ड छन् भने काठमाडौं बालाजुको आधुनिक डेरीको एडीपी ब्रान्ड रहेको छ । 'परीक्षणको क्रममा दूधमा कोलिर्फमको मात्रा शून्य हुनुपर्नेमा ती ब्रान्डका दूधमा २ हजार ४ सयभन्दा बढीसम्म देखियो,' उनले भने । विभागका महानिर्देशक जीवनप्रभा लामाका अनुसार गत साता १४ उद्योगबाट १७ नमुना संकलन गरी परीक्षण गर्दा १६ मा कोलिर्फम पाइएको हो । सञ्जीवनी, कालिका, भक्तपुर, सैंजू, खरिपाटी, नवप्रभात, राजधानी, आईडिया प्लस, नेपाल, आधुनिक, जगदम्बा, डीडीसी, हिमालय, सीताराम डेरीको दूध नमुना संकलन गरी परीक्षण गरिएको हो । मानव स्वास्थ्यका लागि हानिकारक तत्त्व फेला परेका डेरीविरुद्ध जिल्ला प्रशासन कार्यालयमा मुद्दा दर्ता गरिएको पनि विभागले जनाएको छ । अभियोग प्रमाणित भए जेल वा १० हजार वा दुवै दण्ड तिर्नुपर्ने हुन्छ । काठमाडौं उपत्यकाको तीनै जिल्लाको दूध डेरीमा दिसामा पाइने कोलिर्फम नामक जीवाणु फेला परेपछि डेरीहरूको उत्पादनको नमुना परीक्षणलाई तीव्र पारिएको छ । 'कोलिर्फम मानव स्वास्थ्यमा गम्भीर असर गर्ने दिसामा पाइने जीवाणु हो,' लामाले भनिन्, 'यसले झाडापखाला, आऊँ, हैजा, टाइफाइड, हेपाटाइटिस ए, जन्डिसजस्ता रोग लाग्नुका साथै पेटमा अनेक समस्या उत्पन्न गराउन सक्छ ।' पहिलो चरणमा अत्यधिक कोलिर्फम भेटिएका पाँच उद्योगलाई कारबाहीको दायरामा ल्याइएको छ भने अन्य उद्योगलाई पनि समट्दै जाने र गुणस्तरहीन पाइएमा कारबाही गर्नुका साथै सर्वसाधारणलाई जानकारी गराउने विभागले जनाएको छ । सरसफाइमा ध्यान नपुर्‍याएको र प्रशोधनमै कमजोरी पाइएकाले अर्को सूचना नभएसम्म उपभोग नगर्न विभागले अनुरोध गरेको छ । अत्यधिक कोलिर्फम पाइएका डेरी उद्योगमा कारबाहीका क्रममा विभागले सिलबन्दी सुरु गरेको छ । बालाजुको आधुनिक डेरी, भक्तपुर सूर्यविनायकको सञ्जीवी डेरी र ललितपुर चापागाउँको आइडिया प्लस डेरीमा सिलबन्दी गरेको छ । आइडिया प्लस डेरीले विभागबाट खाद्य अनुज्ञापत्र नलिई अवैध रूपमा सञ्चालन गर्नुका साथै दूधमा कोलिर्फमको मात्रा पनि भेटिएको थियो

स्रोत : कान्तिपुर  दैनिक

No comments: