google search

Tuesday, June 18, 2013

डीडीसी, सीताराम र नेपाल डेरी पनि अयोग्य’

डीडीसी, सीताराम र नेपाल डेरी पनि अयोग्य’
काठमाडौ, असार ४ -
दुग्ध विकास संस्थान -डीडीसी), सीताराम र नेपाल डेरीद्वारा उत्पादित दूधमा पनि दिसामा पाइने जीवाणु 'कोलिर्फम' भेटिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका अनुसार बजारमा ८० प्रतिशतभन्दा बढी हिस्सा ओगट्ने यी डेरीका चार प्रकारका ब्रान्डका दूधमा पनि दूषित जीवाणु पाइएको हो ।

डीडीसीका तीन प्रकारका दूधमध्ये नीलो पोकामा 'कोलिर्फम' र पहेंलो पोकामा ठोस पदार्थको मात्रा कमी भेटिएको जनाएको छ । त्यस्तै नेपाल डेरीको इन्डि्रज ब्रान्ड र सीताराम डेरीको सीताराम ब्रान्डको दूधमा पनि जीवाणु भेटिएको छ ।  उपत्यकामा दैनिक एक लाख ३७ हजार लिटर खपत हुने संस्थानको दूधमा यी ब्रान्डको हिस्सा ७५ प्रतिशतभन्दा बढी छ । 'दुवै पोकाका दूध सेवन स्वास्थ्यका लागि प्रतिकूल देखिन्छ,' विभागकी महानिर्देशक जीवनप्रभा लामाले भनिन् ।

डीडीसीले आफ्नो ब्रान्ड विस्तारअन्तर्गत केही महिनाअघि मात्र बजारमा ल्याएको पहेंलो पोका -गाईको दूध) मा ठोस पदार्थको मात्रा आठ प्रतिशत हुनुपर्नेमा ७.३० पाइएको छ । 'यसले दूधमा अत्यधिक मात्रामा पानी मिसाएको देखिन्छ,' विभागका प्रवक्ता प्रमोद कोइरालाले भने ।

संस्थानका महाप्रबन्धक सियारामप्रसाद सिंहले दूधमा देखिएको समस्या सुधार्न सुरु गरेको बताए । 'सुधार गर्दैछौं,' उनले भने, '९९ प्रतिशत नील हुन्छ । तर, एक प्रतिशतमा यस्तो पाइन्छ । यसलाई सुधार गरेर उपभोक्ताले ढुक्कसँग खाने गरी उत्पादन गर्नेछौं ।'

कीर्तिपुरको सीताराम डेरीबाट उत्पादन हुने सीताराम ब्रान्डमा पनि कोलिर्फमको मात्रा प्रतिमिलिलिटर २० पाइएको छ । विभागले यसलाई पनि खान अयोग्य घोषणा गरेको छ । त्यस्तै नेपाल डेरीको इन्डि्रज पनि खान नहुने जनाइएको छ । इन्डि्रज ब्रान्डको दूधमा कोलिर्फमको मात्रा २ सय १० पाइएको छ ।

विभागले भक्तपुरका चार उद्योगको दूधमा कोलीर्फम पाएपछि उपभोग नगर्न सोमबार आग्रह गरेको थियो । अत्यधिक कोलिर्फम भेटिएकामा भक्तपुरको खरिपाटी डेरीबाट उत्पादित गायत्री ब्रान्ड, कमलविनायकको सैंजू डेरीको अमृत र कान्तिपुर ब्रान्ड, भक्तपुर डेरीको बीडीपीएल, सूर्यविनायकको सञ्जीवनी डेरीको सञ्जीवनी ब्रान्ड छन् । बालाजुको आधुनिक डेरीको एडीपी ब्रान्डको दूध पनि उपभोग नगर्न विभागले जनाएको छ । तर, सञ्जीवनीबाहेक अन्यमा सिलबन्दी नगर्दा ती डेरीहरूबाट उत्पादित दूधको वितरण बन्द भएको छैन ।

'दूषित भेटिएका सबै उद्योग सञ्चालकलाई कारबाही हुन्छ,' विभागकी महानिर्देशक लामाले कान्तिपुरसित भनिन्, 'कोलिर्फमको मात्रा कम भेटिएका उद्योगलाई सुधार गर्ने मौका दिएर सिलबन्दी नगरिएको हो ।'

नमुना परीक्षणका क्रममा दूषित भेटिएका डेरी सञ्चालकसँग बयान लिन सुरु भइसकेको उनले जानकारी दिइन् । सबै प्रक्रिया पूरा गरेर जिल्ला प्रशासनमा मुद्दा दायर गर्ने विभागले तयारी गरेको छ ।


प्रकाशित मिति: २०७० असार ५
स्रोत : कान्तिपुर  दैनिक

No comments: