google search

Thursday, June 6, 2013

खानेपानी सुविधाविहीन म्याग्दीका विद्यालयहरु

बाबियाचौर (म्याग्दी), जेठ २३ गते । म्याग्दी जिल्लाका २६ वटा विद्यालय खानेपानी सुविधाविहीन रहेको पाइएको छ ।
    जिल्ला विकास समितिले हालै गरेको स्थलगत अध्ययनका क्रममा १० प्रतिशत विद्यालय खानेपानी सुविधाविहीन रहेको पाइएको हो । जिल्लामा २४२ सामुदायिक र २८ निजी गरी २७० विद्यालय रहेका छन् । 
    सबै विद्यालयको स्थलगत अनुगमनका क्रममा २६ वटा विद्यालयमा खानेपानीको सुविधा नै नभएको पाइएको जिविसअन्तर्गत पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाइ परियोजनाका सल्लाहकार चन्द्रभक्त विष्टले जानकारी दिनुभयो । 
    खानेपानी सुविधा नहुनेमा सामुदायिकका साथै केही निजी विद्यालय पनि रहेका छन् । विद्यार्थीले विद्यालयमा खानेपानीको सुविधा नहुँदा घरबाटै खानेपानी बोकेर लैजानुपर्ने अथवा खानेपानीका लागि विद्यालय परिसरभन्दा बाहिर पुग्नुपर्ने समस्या रहेको छ । खानेपानीको सुविधा अभावले विद्यार्थीको पठनपाठन र सरसफाइमा असर परेको अध्ययनले जनाएको छ । 
    दुईसय ४४ वटा विद्यालयमा मात्र खानेपानीको सुविधा रहेकामा ११५ वटा विद्यालयको खानेपानी योजनाको मात्र सञ्चालन अवस्था राम्रो रहेको सल्लाहकार विष्टले बताउनुभयो । जिविसले ९२ विद्यालयका खानेपानी योजनाको मर्मत सम्भार, ११ योजनाको मर्मत र २२ विद्यालयका खानेपानी योजनाको पुनःनिर्माण गर्नुपर्ने देखिएको जनाएको छ । 
    मर्मत, पुनःनिर्माण र २६ वटा विद्यालयमा नयाँ खानेपानी योजना निर्माणका लागि आवश्यक बजेट विनियोजन गर्न पहल गरिरहेको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । 
    यसैगरी अझै चारवटा विद्यालयमा चर्पी नभएको पाइएको जिविसको अध्ययन प्रतिवेदनमा उल्लेख छ
स्रोत : रासस

No comments: