google search

Wednesday, October 6, 2010

'डेंगुको प्रकोप अझै केही समय रहन्छ'

'डेंगुको प्रकोप अझै केही समय रहन्छ'

-दीपेन्द्र बडुवाल
 7th Sept. 2010

भरतपुर- जिल्ला जनस्वास्थ्यले दसैंसम्म डेंगु प्रकोप नहट्न जनाएको छ । त्यसपछि भने चिसो मौसम सुरु हुने भएकाले प्रकोपमा कमी आउने अनुमान गरिएको छ । दैनिक बिरामी थपिने क्रम जारी छ । बुधबार भरतपुर र रत्ननगर नगरपालिका क्षेत्रमा लामखुट्टे नष्ट गर्ने औषधि छरिसकेको स्वास्थ्य बतायो ।


कार्यालयका भेक्टर कन्ट्रोल निरिक्ष्ाक राम केसीले अहिले दिनमा सरदर २ जना डेंगुका बिरामी पुष्टि भएका छन । बुधबारसम्म विभिन्न अस्पतालमा १ हजार १ सय ४१ जना ज्वरोका बिरामी भर्ना भएकामा १ सय ९४ मा डेंगु भेटिएको थियो । मंगलबार १ सय ८५ थिए । भर्ना भएकामध्ये ८० प्रतिशत चितवनका छन् । बाँकी आसपास जिल्लाका थिए । 'प्रकोप घटनुको साटो बढ्दो छ,' विभागबाट नियन्त्रणका लागि आएको टोलीका सदस्य डा. प्रमोद खनालले भने, 'समय लाग्ने देखियो ।' कार्यालयका अनुसार छर्किएको औषधिले ५ देखि १० प्रतिशत लामखुट्टे मर्छन् । ९० प्रतिशत भने बाँकी रहन्छ । बढी प्रभावित क्षेत्रमा औषधि छरिएको हो । औषधिले लामखुट्टेका अण्डा, प्युपा र लार्भा नमार्ने हुँदा प्रकोपमा कमी आउँदैन । औषधिले सबै प्रकारका लामखुट्टे, माहुरी, फट्यांग्रा पनि मारिन्छन् । त्यसले इकोसिस्टम प्रभावित हुने स्वास्थ्यकर्मी बताउँछन् ।


स्रोहश्राद्धका बेला फ्यांकिएका दुना, टपरीमा समेत लामखुट्टे हुर्केका छन् । 'व्यक्ति जागरुक नबनेसम्म प्रकोप घट्दैन,' जनस्वास्थ्यका निमित्त प्रमुख जयराम दुवाडीले भने, 'दसैंसम्म यस्तै अवस्था रहन्छ ।' त्यसपछि खाल्डामा जमेको पानी सुक्ने र तापक्रम पनि घट्ने हुँदा प्रकोप घट्ने अनुमान गर्न सकिन्छ । तर कार्यालयले प्रकोपमा कमी आउने दाबी गर्न सकेको छैन । लामखुट्टे वृद्धि भइरहेकाले जाडोयाममा समेत डेंगु कायम रहने खतरा रहेको दुवाडीले जनाए । चिकित्सकका अनुसार ०५९ देखि यहाँ ज्वरोको प्रकोप बर्सेनि देखिएको छ । गत वर्ष ७१ जनाको रगतका नमुना परीक्षण गरिएकामा ६ जनामा डेंगु पुष्टि भएको थियो । यो वर्ष भने महामारी रूप लिएको छ । 'अर्को वर्ष समस्या बढ्न सक्छ,' दुवाडीले भने, 'जनचेतनाका काम जारी राख्नुपर्‍यो ।' नवलपरासीको दाउन्ने र मकवानपुरको चुरियामाईबीच प्रत्येक वर्ष असारदेखि असोजसम्म ज्वरो फैलिने गरेको छ ।

पहिले यहाँ मलेरिया थियो । त्यतिबेला कालोपानी जिल्लाका रूपमा चिनिन्छ । अहिले मलेरिया पूर्वी चितवनका ३/४ गाविसमा देखिन्छ । दुई वर्षयता डेंगु, लेप्टोस्पाइरोसिस र स्वाइनफ्लु समस्या आएका छन् । जनस्वास्थ्यका अनुसार १ सय ८ जनाको रगत परीक्षण गरिएकामा २८ जनामा लेप्टोस्पाइरोसिस पाइएको छ । यसको उपचार सम्भव छ । डेंगुको उपचार नभएकाले समस्या छ । त्यसैगरी ५४ जनामा स्वाइनफ्लु परीक्षण गरिएकामा २४ मा त्यो पाइएको छ ।


यसपालि साउनसम्म रुघा, ज्वरो र टाइफाइड फैलिएको थियो । साउनको तेस्रो सातापछि रगतमा 'प्लेटलेट' मात्र कम भएका बिरामी आउन थाले । त्यस्ता बिरामीको अचानक मृत्युसमेत भयो । त्यसपछि अस्पतालले विश्व स्वास्थ्य संगठन र सरुवा रोग नियन्त्रण महाशाखामा सम्पर्क गरेका थिए । रोग नियन्त्रणका लागि बिहीबार केन्द्रबाट थप एक टोली आउँदैछ ।

(Source: Kantipur Daily, http://www.ekantipur.com/kantipur/news/news-detail.php?news_id=227912)

No comments: