google search

Monday, October 11, 2010

डेंगु रोगको संक्रमण बढेको बढ्यै

डेंगु रोगको संक्रमण बढेको बढ्यै

-October 11, 2010
-बिनोद त्रिपाठी/ रत्ननगर
-चितवन, आश्विन २४


गर्मीयाम घट्दै गए पनि चितवनमा डेंगु सार्ने लामखुट्टे फैलिने क्रम रोकिएको छैन ।

डेंगु अर्थात उच्च ज्वरो नियन्त्रणका लागि जनस्वास्थ्य कार्यालयले रोग सार्ने मुख्य माध्यम लामखुट्टे मार्न सार्वजनिक स्थानमा विषादी छर्ने काम गरे पनि बिरामीको संख्या दिन प्रति दिन बढेको छ । लामखुट्टेको फैलावट नरोकिएकाले दुई महिनादेखि देखिएको डेंगु रोगको संक्रमण बढ्दो क्रममा छ । ११ दिन अघि जिल्ला जनस्वास्थ्यले १ सय १३ जनामा डेंगु रोग देखिएको सार्वजनिक गरेको थियो । तर शनिबारको रेकर्डमा २ सय रोगीको संख्या नाघेको जनस्वास्थ्यले रेकर्ड राखेको छ । दिनप्रति दिन डेंगु संक्रमण फैलिन थालेपछि स्वास्थ्यकर्मी नियन्त्रण हुन नसकेकोमा चिन्तित बनेका छन् ।


ज्वरो आएका बिरामीको परीक्षणका लागि जिल्ला जनस्वास्थ्य कार्यालयले रत्ननगर लगायतका स्थानहरुमा स्वास्थ्य परीक्षण शिविर चलाएको थियो । अधिकांश बिरामी ग्रामिण भेगका भन्दा बजारका बासिन्दा भएकाले घना बस्तीमा रोग नियन्त्रण अभियान जनस्वास्थ्य कार्यालयले चलाएको छ ।


जनस्वास्थ्यका अनुसार डेंगु रोग सार्ने एडिज एजिप्टाइको लामखुट्टे नियन्त्रण नभएकाले रोगीको संख्या बढेको हो । इपिडियोलोजी तथा रोग नियन्त्रण महाशाखाले केही दिनअघि डेंगु रोगको नियन्त्रण भएको दाबी गरेको थियो । हरेक वर्षझैं यसपाली पनि फैलिएको भाइरल ज्वरोका १ हजार १ सय ४१ जना रोगीको रगत परीक्षण गरिएकामध्ये २ सय २ जनामा डेंगु रोग देखा परेको जनस्वास्थ्य कार्यालयले जनाएको छ । परीक्षण गरिएका बिरामीमा २६ जनामा ल्याप्टोस्पाइरोसिस र २४ जनामा पान्डेमिक इन्फ्लुएन्जा एच १ एन १ देखा परेको हो । दस दिनको अवधिमा ९२ जना बिरामीलाई डेंगु रोग देखिएपछि उपचारमा संलग्न चिकित्सक आश्चर्यमा परेका छन् । गर्मी घटेपछि डेंगु संक्रमणमा कमी होला लागेको थियो, तर बढेको बढ्यै छ, चितवन मेडिकल कलेजका फिजिसियन डा. शितल अधिकारीले कान्तिपुरसंग भने, 'रोग नघटेको देख्दा आश्चार्यमा परेका छौं ।' सरुवा रोग भएकोले संक्रमणमा कमी नआएको उनले बताए ।


उनका अनुसार लामखुट्टे नियन्त्रणमा नआएसम्म रोगीको संख्या नघट्ने देखिएको छ । सरुवा रोग भएकोले रोगी व्यक्तिलाई टोकेर अर्को निरोगीलाई सजिलै सार्ने भएकाले रोग नियन्त्रणमा नआएको हो, उनि भन्छन्, 'लामखुट्टेले टोकेको १० दिनपछि मात्र लक्षण देखिने भएकाले पनि रोग नियन्त्रण हुन अझै केहि दिन लाग्छ ।' रोग नियन्त्रणका लागि जनस्वास्थ्यले लामखुट्टे नियन्त्रण गर्न हरेक दिन रत्ननगर, नारायणगढ, भरतपुर क्षेत्रमा माइकिङ गर्ने, किटनाशक औषधी छर्ने लगायतका कार्य गरे पनि नियन्त्रणमा आउन सकेको छैन । बजार क्षेत्रमा अत्यधिक फोहोर हुनाले नियन्त्रण गर्न कठिनाई भएको जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

यो भाइरलबाट संक्रमण भएकाले पुरै नियन्त्रण हुन धेरै दिन लाग्न सक्छ, जनस्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीले कान्तिपुरसँग भने, 'जनचेतना र सरसफाइमा ध्यान दियौं भने धेरै हदसम्म रोग नियन्त्रणमा आउनेछ ।'

Source: Kantipur daily, (http://www.ekantipur.com/kantipur/news/news-detail.php?news_id=228324)

No comments: